सङ्खुवासभाः सङ्घीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले जनताहरूसँग दोहोरो कर नलिने नीति राज्यले अपनाउने बताएका छन् ।

मन्त्री खतिवडाले व्यावसायिक रूपमा आय आर्जन गर्न सक्ने र आम्दानीको बाटो हुनेहरूसँग सरकारले कर लिने हँुदा सर्वसाधारण जनतालाई करको त्रासमा नपर्न समेत आग्रह गरे ।

सोमबार सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुुरा गर्दै डा. खतिवडाले सरकार निम्न आयस्तर भएका नागरिकको हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउँदै सबै खाले आर्थिक द्वन्द्व समाधानको बाटो पहिल्याउन सरकार लागिरहेको उल्लेख गरे । सङ्घीय मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनका लागि उत्पादक शक्तिलाई उत्पादनसँग जोड्ने योजना सरकारले अगाडि सार्न लागेको उनको भनाइ थियो ।

खतिवडाले करको विषयमा तल्लो तहमा नकारात्मक सन्देश गएकाले त्यसको वास्तविकता बुझ्न आग्रह गरे । अहिले बजारमा हल्ला भएजस्तो सरकारको साधारण खर्च बढी नभएको बरु राजस्व सङ्कलन बढी भएको मन्त्री खतिवडाले बताए ।

yabraj-khatiwasa copy

अरुण तेस्रोको ‘रिभ्यु’ गर्ने बेला भएको छैन
पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन रहेको बहुचर्चित अरुण तेस्रोको अहिले नै ‘रिभ्यु’ गर्ने बेला नभएको अर्थमन्त्री डा. खतिवडाले बतााएका छन् । मन्त्री खतिवडाले बहुचर्चित आयोजना अरुण तेस्रो जलविद्युत आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यसले देशको समृद्धि र अर्थ व्यवस्थामा आमुल सुधार हुनेमा सरकार ढुक्क रहेको बतए ।

अरुण तेस्रोको निर्माण कार्य चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसको बारेमा पुनरावलोकन गर्ने भन्दा पनि कार्यप्रगतिको आधारमा सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय गौरवको जलविद्युत आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरेको अर्थमन्त्री खतिवडाको भनाइ थियो । उनले भने, ‘स्थानीय नागरिकको समेत पहुँच बढाउँदै लैजाने र जलविद्युतको आयोजनास्थलसम्म मध्यपहाडी लोकमार्गले जोडेर लैजाने गरी नीति बनाइएको हो । त्यस बीचमा छिटो–छिटो सरकार परिवर्तन हुँदा कार्यान्वयन हुन नसकेको हो ।’

अरुण तेस्रो जलविद्युत आयोजनालाई लक्षित गरेर कोशी राजमार्गको विस्तार भए पनि आयोजनास्थलसम्म पुग्ने सडकको अवस्था राम्रो नहुँदा आयोजना प्रभावित हुन सक्नेप्रति स्थानीयहरूले चिन्ता व्यक्त गरेका थिए । मध्यपहाडी लोकमार्गको पहुँच जलविद्युत आयोजना स्थलसम्म सरकारले पु¥याउने दायित्व रहेको उल्लेख गरे ।

सो सडकले विद्युत आयोजनालाई मात्रै होइन स्थानीयलाई पनि फाइदा पुग्ने उनले जनाए । स्थानीयवासीहरूले त्यो सडकको फाइदा लिन सक्नुपर्ने मन्त्री खतिवडाको भनाइ थियो । त्यो सडक पहुँचमा रहेका स्थानीयहरूले कृषि उत्पादन बढाउने, वनजन्य र प्रकृतिजन्य वस्तुको उत्पादन बढाउने र यसलाई जतिसक्दो साधन स्रोतको उपयोग गरी फाइदा लिन सक्नुपर्ने उनको जोड थियो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरवको अर्को आयाोजना किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजस्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको समेत बताए ।

गत भदौ ३१ गतेदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा धरान कार्यालयअन्तर्गत स्थापना भएको आन्तरिक राजस्व कार्यालयको उद्घाटन गर्न मन्त्री खतिवडा आइतबार खाँदबारी आइपुगेका हुन् । पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य रजेन्द्र गौतम र प्रदेश सभा सदस्य तुुलसी न्यौपानेको समेत सहभागिता रहेको थियो ।