इटहरीः बिरामीलाई खाना बोकेर कोशी अञ्चल अस्पताल विराटनगर हिँडेका सरोज कार्की बिनाकारण जरिवानामा परेका छन् । आज बिहान ११ बजेको आसपास विराटनगरको भाटभटेनी सुपर स्टोर अगाडि प्रहरीले उनको सवारी रोकेर जरिवाना तिराएको हो ।

प्रचण्ड आएको बेला बाइक कुदाएको भन्दै प्रहरीले पक्राउ गरेको कार्कीले बताए । कोशी अञ्चल अस्पतालमा उपचाररत ठुलीआमालाई खाना लिएर गएका कार्की प्रहरीको फन्दामा परेका हुन् ।
आफ्नो बाइकले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नपारेको कार्कीले बताए पनि प्रहरीले ‘धेरै नबोल्’ भन्दै हप्काएको कार्की बताउँछन् । प्रचण्डको गाडी अगाडि सवारी गुडाएको भन्दै प्रहरीले उनलाई कारबाहीको धम्की दिएको हो ।
को १९ प ७३५५ नम्बरको बाइकमा इटहरीबाट विराटनगर पुगेका उनले नेपाली जनताको नेता आउँदा किन रोक्या भनी प्रश्न गरे । प्रहरीले ‘तपाईँ मन्त्री भएर आउनुस् हामी सलाम ठोक्छाँै तर अहिले यो बाटोमा हिँड्न मिल्दैन’ भनेर जवाफ फर्काएको उनले बताए ।

प्रचण्डको सवारी नआइपुगी ट्राफिकले कार्कीको बाइकको चाबी खोसेको थियो । त्यसपछि आफू हिँड्दै अस्पताल पुगेको उनले बताए । प्रचण्डको सवारी सकिएपछि महेन्द्र चोक नजिकको ट्राफिक पोस्टमा लाइसेन्स लिन पुगेका कार्कीलाई ट्राफिकले १ हजार ५ सय रुपैयाँ जरिवाना गरेको थियो ।

आफूलाई ट्राफिकले भाटभटेनी सुपरमार्केटको सिसी क्यामेरा अगाडि रोकेको हुनाले आफ्नो गल्ती भए सिसी टिभी फुटेजमा देखिने उनले बताए । आफूले ट्राफिक नियम उल्लङ्घन गरेको प्रमाण दिएमा जरिवाना तिर्न तयार भएको कार्की बताउँछन् । तर, प्रचण्डको अगाडि हिँडेकै आधारमा जरिवाना तिर्दा दुःख लागेको उनको भनाइ छ ।
उता, यस घटनाको बारेमा आफूलाई कुनै पनि जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर शिव पोखरेलले बताए ।