काठमाडौँः यसवर्षको मनसुन अत्यन्तै जोखिमपूर्ण रहेको चेतावनी मौसमविद्हरुले दिएका छन् । नेपालमा मनसुन भित्रनै लाग्दा विज्ञहरुबाट यस्तो चेतावनी आएको हो ।

उनीहरुले मनसुनका समयमा सुरक्षित रहन सबैलाई आग्रह गर्दै त्यसको पूर्वतयारीमा जुट्नुपर्ने अवस्था आएको पनि बताएका छन् । यस वर्ष मनसुनजन्य विपद् (विशेष गरेर बाढी र पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान मौसमविद्ले गरेका छन् । गतवर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । यसपालिको मनसुन झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ । उक्त चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी एवं सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताएका छन् ।

कोरोना महामारीकै समयमा यसवर्ष बढी वर्षा हुने आँकलन गरिएको छ । डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना रहेको पोखरेलले बताए । मुलुकमा गरिबी पनि बढेकाले थप चुनौतीपूर्ण अवस्थामा गुज्रिनुपर्ने बेला आएको उनको भनाइ छ । पोखरेलले मनसुनले पार्ने प्रभाव र असरको मूल्याँकन गर्दै त्यसलाई केन्द्रित गरेर नै पूर्वतयारी र प्रतिकार्य योजना बनाएर अघि बढ्नुपर्ने बताए । नभए धनजनको ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउने उनको भनाइ छ । विगतको तथ्यङ्क विश्लेषणको आधारमा यसपालि मनसुनका समयमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको पोखरेलले बताए । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए ।

गतवर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो । सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गतवर्ष मनसुनजन्य विपद्बाट झण्डै चार सय मानिसको मृत्यु भएको थियो । एक हजार एक सय बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ । प्राधिकरणका उपसचिव वेदनीधि खनालका अनुसार विगतका वर्षको अनुभव हेर्दा साउन­देखि असोजमा बढी प्रभाव पारेको देखिएको छ । उनले बाढी­पहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । खनाल यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाउँछन् ।

प्राधिकरणले पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दो बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पु¥याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेल बताउँछन् । यसपालि प्रदेशको पनि कार्ययोजना बनाएर अघि बढाइएको छ भने केही हटस्पट भएको गाउँपालिकाको कार्य योजना पनि तयार पार्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ । गतवर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन । सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रुपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । आवश्यक तयारीका लागि सरकारबाट कानूनी संरचना निर्माण र छिटो उद्धार कसरी गर्ने भन्नेर समिति समेत बनाइसकिएको र त्यसले काम गरिरहेको पोखरेल बताउँछन् ।

सोही पूर्व तयारीका लागि बुधबार प्राधिकरणले समन्वयात्मक रुपमा भर्चुअल बैठक समेत गरेको छ । उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापाले क्षति न्यूनीकरण नै पहिलो लक्ष हुनुपर्नेमा जोड दिए । यसपालि सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खौँचो रहेको उनले औँल्याए । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् विभूति पोखरेलले यसपालि मनसुन सक्रिय नै हुने देखिएको जानकारी दिइन् । उनका अनुसार प्रि–मनसुनमा जसरी वर्षा हुनुपर्न थियो त्यो भएन । अहिले बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र विकसित हुँदैछ । जसका कारण देशभर मनसुन सक्रिय हुने उनले बताइन् । विभागको बाढी पूर्वानुमान महाशाखा प्रमुख विक्रम श्रेष्ठ हरेक वर्ष बाढीलाई फोकस गरेर २४ घण्टै पूर्वसूचना दिने गरिएको बताउँछन् । केही हप्ताअघि मनसुन आपतकालीन कार्ययोजना २०७८ जारी गरेर काम हुँदै आएको र दिनमा तीन पटक बाढीको सूचना दिने गरिएको उनले जानकारी दिए ।

संयुक्त राष्ट्रसङघका आवासीय प्रतिनिधि सारा बेस्लो नयन्टीले नेपालको विपद्मा संयुक्त राष्ट्रसङघको सधैँ साथ र सहयोग रहने उल्लेख गर्दै कोभिड—१९, त्यसको आर्थिक सङ्कट र मनसुनजन्य विपद्मा सरकार र सबै निकाय मिलेर काम गर्नुपर्ने धारणा राखे । जलस्रोत तथा सिँचाइ विभागको नदी व्यवस्थापन शाखा प्रमुख विष्णुदेव यादवका अनुसार मसुलकका विभिन्न तटबन्ध र जोखिम क्षेत्रमा प्रभावकारी उपाय अपनाई बाढी तथा डुबानको जोखिम न्यूनीकरण गरिरहेको तथा आवश्यक तार, जाली र बोरा भण्डारणको तयारी थालिएको छ । यादवले सीमावर्ती क्षेत्र तटबन्ध र अरु संरचनाले पु¥याएको अवरोधका सन्दर्भमा भारतसँगको समन्वयमा निकास निकाल्ने काम सुरु भइसकेको बताए । सीमा क्षेत्रमा वर्षेनी डुबान हुँदै आएको छ । बजेटको अभाव भएकाले चुनौतीपूर्ण अवस्था कायमै रहेको यादवले बताए । -रासस