इटहरीः चितवनको भरतपुर – १० मा रहेको ‘चितवन उच्च मावि’ले आफ्नो स्वामित्वमा रहेको जग्गा बिक्री गर्दै र भाडामा लगाउँदै आएको थियो । विद्यालयको जग्गा अन्यत्र प्रयोग गर्न नपाइने भन्दै सर्वोच्च अदालतले यस विषयमा २०७३ फागुन ११ गते फैसला गरेको थियो । विद्यालयको जमिन विद्यालय आफैँले पनि थप आम्दानीको रूपमा प्रयोग गर्न नपाउने गरी सर्वाेच्चले फैसला गरेको थियो ।
भूमाफियाहरूको चङ्गुलमा सार्वजनिक विद्यालय पर्ने र ३० देखि ५० वर्षसम्म जग्गा भाडामा दिएर जग्गा बेचेजत्तिकै बनाउने परिपाटीको विरुद्धमा सर्वोच्चले फैसला गरेको थियो । सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा आनन्दमोहन भट्टराईको इजलाशले नजिर स्थापित हुने खालको आदेश दिएको छ ।
शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा (१) मा सामुदायिक विद्यालयको हकभोगमा रहेको सम्पत्ति सार्वजनिक सम्पत्ति मानिनेछ भन्ने व्यवस्था छ । यही सार्वजनिक सम्पत्तिको सही र उचित व्यवस्थापन गर्नु नै सामुदायिक विद्यालयको दायित्वको कुरा हो । यसको अर्थ जसलाई जे मन लाग्छ त्यही गर्न पाइन्छ भन्ने भन्दा पनि जुन उद्देश्यले अर्पण गरिएको सम्पत्ति हुन्छ त्यसैअनुसार उपयोग गरिनुपर्ने देखिन्छ ।
त्यस्तै, शिक्षा नियमावलीको नियम १६० ले विद्यालयको नामको जग्गा बिक्री वा धितो राख्न बन्देज गरेको छ । यसरी कानुनी रूपमा देखिएका अनेकौँ व्यवस्थाविपरीत साजीलाल उच्च माविको जग्गा उपभोग भइरहेको छ । जसमा विद्यालय प्रशासन, व्यवस्थापन समिति, राजनीतिक दल तथा नगरपालिकाको समेत सहभागिता रहेको पाइएको छ ।
मोरङकै धनीमध्येको एक विद्यालय मानिने साजीलाल उच्च माविले जग्गा करारमा दिने र व्यापारिक प्रयोजनमा प्रयोग गर्ने काम जारी नै छ । विद्यालयको नाममा रहेको ४८ बिघा जग्गा व्यक्तिगत रूपमा उपभोग भइरहेको छ । सुन्दरहरैंचा–५ मा पर्ने सो माविको केही जग्गामा स्कुल आफैँले बजार सञ्चालन गर्दै आएको छ ।
गछिया चोकमै अवस्थित ५ बिघा जग्गामध्ये डेढ बिघा जग्गा खोलाले कटान गरिसकेको छ । बाँकी साढे तिन बिघा जग्गामा बस्ती, बजार, खेल मैदान र अस्थायी प्रहरी बिट रहेका छन् । खोला किनारको करिब एक बिघा जग्गामा बस्ती छ । विगत लामो समयदेखि बस्ती बसिरहेको भए पनि त्यस विषयमा कसैले आवाज उठाउन सकेका छैनन् । स्थानीय राजनीतिक दल तथा सरोकारवाला निकायबाट कुनै पहल नभएपछि बस्ती बिस्तार हुने क्रम बढिरहेको छ ।
त्यस्तै, कोशी अञ्चल यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टर सञ्चालनको लागि १ बिघा ७ कट्ठा जग्गा विद्यालयले भाडामा दिएको छ । जसबापत स्कुलले वार्षिक रूपमा १ लाखभन्दा बढी रकम लिँदै आएको छ । अण्डरग्राउण्ड ड्राइभिङ सेन्टरले ट्रायल स्कुल सञ्चालनका लागि डेढ बिघा जग्गा भाडामा लिएको छ । जसबापत वार्षिक ५० हजार र गोकुलम रिसोर्टको पूर्वपट्टिको जग्गाबाट ५० हजार रुपैयाँ भाडा लिने गरेको पाइएको छ ।
त्यतिमात्र होइन स्कुलको जग्गामा हाट बजार सञ्चालन गरेर नगरपालिकाले कर उठाउँदै आएको छ । नगरपालिकाले टेन्डर नै खुलाएर ठेक्का दिँदै आएको पाइएको छ । जसबापत स्कुलको खातामा एक पैसा पनि नआएको प्रधानाध्यापक कल्याण सिटौलाको भनाइ छ । यसरी नगरपालिकादेखि व्यक्तिगत रूपमा समेत विद्यालयको जग्गा प्रयोग हुँदै आएको पाइएको छ । केही जग्गा खेल मैदानको रूपमा विकास भएको छ । वार्षिक रूपमा विभिन्न महोत्सव सञ्चालन हुने उक्त मैदानबाट विद्यालयले कति पनि पैसा नपाएको उनी बताउँछन् ।
उता, विद्यालय आफँैले पनि विद्यालयकै नाममा गछिया चोकमा साजीलाल मार्केट सञ्चालन गरेको छ । करिब १ करोड २५ लाखको लागतमा बजार सञ्चालन गरिएको प्रधानाध्यापक सिटौला बताउँछन् । बजारको सटर भाडामा लगाउन २ लाखदेखि ३ लाख सम्म धरौटी लिएको र हरेक सटरबाट २ देखि ९ हजारसम्म भाडा लिने गरेको उनको भनाइ छ ।
यसरी नगरपालिकादेखि निजी क्षेत्रको स्वार्थ पूरा गर्नको लागि विद्यालयको जग्गा प्रयोग हुँदै आएको छ । विद्यालय आफँैले पनि व्यापारिक प्रयोजनको लागि जग्गा प्रयोग गर्न शुरु गरेको छ जुन कानुनविपरीत देखिन्छ ।