इटहरीः स्थानीय तहको निर्वाचनभन्दा अगाडि काम शुरु भएको मेयर भवन निर्माणको भुक्तानी अझैसम्म पनि नभएपछि व्यवसायीहरू इटहरी उपमहानगरपलिकासँग रुष्ट भएका छन् ।
काम सकिएको १ वर्षभन्दा बढी समय बितिसक्दा पनि रकम भुक्तानी नदिएकोमा निर्माण व्यवसायीहरू नगरपालिकासँग आक्रोशित भएका हुन् ।

मेयर भवनको भुइँतर्फको कामको जिम्मा निर्माण व्यवसायी रामचन्द्र मठियतले पाएका थिए । मठियतले फ्लोर लेबलसम्मको काम सकेको पनि डेढ वर्ष भन्दा धेरै भएको छ । काम सकेको डेढ वर्ष भन्दा बढी समय हुँदा पनि उनले काम गरेबापत १ रुपैयाँ पनि पाएका छ्रैनन् ।

‘टीकादत्त राई सर कार्यकारी हुनुहुन्थ्यो । त्यति बेला नै सम्झौता भएर काम शुरु गरेको हो । सम्झौता गरेको ६÷७ महिनामै काम सकेको पनि आज डेढ वर्ष बढी भइसक्यो,’ मठियत भन्छन्, ‘सानो रकमको बिउ पूँजीबाट व्यवसाय शुरु गरेका हामीजस्ता साना व्यवसायीहरूको १४ लाख रुपैयाँ रोकेर घाँटी थिचेको जस्तै भएको छ ।’

उपमहानगरको १३ लाख ५० हजार बराबरको काम गरेका मठियतको हातमा अहिलेसम्म एक रुपैयाँ पनि हातमा परेको छैन । कच्चा पदार्थ, कामदारलगायतका अन्य खर्च बेहोरेका मठियतजस्तै अन्य निर्माण व्यवसायीहरू रकम आउने पर्खाइमा छन् ।

बैंकको ब्याज दिनप्रतिदिन बढ्दै जाँदै छ, हातमा पैसा छैन । प्रक्रिया मिचेर कसलेकसले गल्ती गर्छन् तर सजाय भने आज आपूmहरूले भोगिरहेको व्यवसायीहरू बताउँछन् । ‘हामीले बक्यौता सम्झौता गरेर काम थालेका हौँ । काम गुणस्तरहीन पनि भएको छैन । प्रक्रिया मिच्ने अरु, सजाय पाउने हामी,’ मठियतले भने, ‘तिहारपछि पनि भुक्तानी भएन भने क्षतिपूर्तिसहित अदालतसम्म जान्छौँ ।’

‘२ वटा दशैँ गइसक्यो । यो तिहार अगाडि त दिने छाँटकाँट नै छैन तर तिहार पछाडि पनि दिन आलटाल भयो भने चाहिँ म भने अदालतको ढोकासम्म जान्छु ।’

मठियत मात्र होइन अन्य निर्माण व्यवसायीले पाउने खर्चसमेत रोकिँदा व्यवसायी मर्कामा परेका छन् । भुक्तानी नपाएपछि धेरै व्यवसायीहरूले अझैसम्म पनि हार्डवेयरको उधारो रकम तिर्न पनि सकेका छैनन् । ‘बीपी, सुगर, स्ट्रेस सबै बढिसक्यो । औषधी प्रयोग गर्न बाध्य भइसकियो’, एक व्यवसायीले भने, ‘आउने रकम पनि ब्याज र औषधीमै सकिने भयो ।’