धरानः यस वर्षको ‘छिमेकी राइजिङ स्टार’ धरान–१६ की समिता लिम्बू बनेकी छिन् ।

छिमेकी युवा समूहले धरान–१२ स्थित चतरालाइनमा सोमबार गरेको ‘२० औं छिमेकी साँझ–२०७५’ को अवसरमा गायन प्रतियोगिता आयोजना गरेको थियो ।

सो प्रतियोगितामा आफ्ना ५ प्रतिष्पर्धीलाई पछि पार्दै लिम्बू ‘छिमेकी राइजिङ स्टार’ बनेकी हुन् । उनले आफ्नो सुरिलो स्वरमा ‘शान्ति लुकाऔं कहाँ....’ बोलको गीत गाएकी थिइन् । विजेता बनेसँगै उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी हात पारिन् । उनलाई सो पुरस्कार एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई र आयोजक समूहका अध्यक्ष राजेन्द्र राईले प्रदान गरे ।

प्रतियोगिताका निर्णायकमा गायक मनोहर शाक्य र सङ्गीतकारद्वय राजु थापा र भानु थापा थिए । छिमेकीले पहिलो पटक गायन प्रतियोगिताको आयोजना गरेको हो । धरान सङ्गीत प्रतिष्ठानको सहकार्यमा केही दिनअघि मात्र अन्तिम प्रतिस्पर्धाका लागि ६ जनालाई छनोट गरिएको थियो ।

प्रतियोगिताको अडिसनमा धरानका ८० जनाको सहभागी थिए । सो साँझमा चर्चित गायिका मेलिना राईले पनि धराने फ्यानहरूलाई नचाइन् । रातको करिब ११ बजेतिर स्टेजमा उक्लेकी मेलिनाले चलचित्र नोभेम्बर रेनको ‘चाहना मेरो...’ बोलको गीतबाट आफ्नो प्रस्तुति प्रारम्भ गरिन् । उनले आफ्ना नयाँ र पुराना आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् ।

धराने फ्यानको आग्रहमा मेलिनाले लगातार तिमीले बाटो फेर्याै अरे..., नाच फिरीरी..., चरीजस्तै उड्न पाए..., ‘माछीले खाने खोलीको लेउ..., आएँ म त कान्छा तिम्रो छेउ...’ लगायतका आफ्ना चर्चित गीत पस्केकी थिइन् । मेलिनालाई प्रत्येक गीतमा दर्शकले सँगसँगै गाएर साथ दिएका थिए । बेलाबेलामा मेलिनाले धरानको प्रशंसासमेत गर्न भ्याइन् । उनले भनिन्, ‘धरान कत्ति सफा शहर छ, काठमाडौं त धुलै धुलो छ ।’ धरानेहरूको मन पनि सफा छ होला है ।’ कार्यक्रम हेर्न आएका अधिकांश दर्शक मेलिनाको गीतमा कम्मर मर्काईमर्काई नाचेका थिए ।

यसैगरी, गायक शिव लामिछानेले पनि लाइभ म्युजिकमार्फत् आफ्ना प्रस्तुति दिएका थिए । छिमेकीले उनलाई ‘बहुआयामिक व्यक्तित्व’ को रूपमा सम्मानित गरेको थियो । गायक लामिछाने वराह इन्डष्ट्रिज प्रालिका अध्यक्ष समेत हुन् ।

यस्तै, गायिका प्राश्ना शाक्यले पनि आफ्नो प्रस्तुति दिएकी थिइन् । साथै, गायक कृष्णराजा श्रेष्ठ, मेरी शाक्यलगायतले पनि आफ्नो प्रस्तुुति दिएका थिए । खेलकुद क्षेत्रमा योगदान गरेका धरानका पूर्व फुटबल खेलाडी बिरु राई र कुमार सुब्बालाई सम्मानित गरिएको थियो । राई र सुब्बा २०३५ सालको त्रिभुवन गोल्डकपको विजेता समेत हुन् ।

उनीहरूले त्यतिबेला छिमेकी–११ (हालको छिमेकी युवा समाज)बाट सहभागिता जनाएका थिए । कार्यक्रमबाट सञ्चित भएको रकम छिमेकीको बिग्रिएर थन्किएको एम्बुलेन्स मर्मतमा खर्च गरिने समूहका अध्यक्ष राईले बताए । ‘छिमेकीले १५ वर्षदेखि सञ्चालन गर्दै आएको एम्बुुलेन्स छ । अहिले ग्यारेजमा थन्किएको छ । कार्यक्रमबाट सञ्चित भएको रकम एम्बुलेन्सको मर्मतमा खर्च गर्नेछौं,’ समूहका अध्यक्ष राईले भने ।

chhimeki sanjh (1) chhimeki sanjh (2) chhimeki sanjh (4)