इटहरीः धनकुटाको शहीदभूमि गाउँपालिकाको छिन्ताङकी दिलकुमारी राई आज बिहान चिसोको समेत कुनै वास्ता नगरी इटहरीको चोकमा फूल बेच्न बसेकी थिइन् ।

मङ्गलबार राति छिन्ताङबाट गाडी रिजर्भ गरेर आएकी उनले बिहान ४ बजे नै इटहरीस्थित धरानलाइनको फुटपाथमा फूलको पसल थापिन् । बोरा र कार्टुनमा फूल लिएर आएकी उनी त्रिपाल ओछ्याएर फूलको व्यापार गर्न बसेकी थिइन् । तर, ग्राहक स्वदेशी होइन आयातीत फूलतर्फ आकर्षित भएपछि लगानीसमेत नउठ्ने भयले उनी चिन्तित भइन् ।

‘हामीले यति धेरै मिहिनेत गरेर फूल रोप्यौँ तर बजार नपाउँदा दुःख लागेको छ’, छिन्ताङ प्राविकी शिक्षिकासमेत रहेकी राईले भनिन्, ‘८ रोपनी जग्गामा फूल खेती गरेका थियौँ । तर फूलको कारोबार हुने मुख्य सिजनमा नै स्वदेशी फूलको बिक्री नभई विदेशी फूलको बिक्री भएको देख्दा दुःख लागेको छ ।’

flower byapar  (10)

धनकुटाकै रबिट तामाङ पनि इटहरीको फुटपाथमा फूल बेच्न आएका थिए । उनको पनि गुनासो राईको भन्दा कम थिएन । बाँसको चोयाले बनेको डोकोजस्तो वस्तुमा सुरक्षित तरिकाले फूल ल्याएर व्यापार गर्न उनी बसेका थिए । ‘हामी यति टाढाबाट फूलको व्यापार गर्न आयौं तर यहाँ भारतीय फूलप्रति आकर्षण बढेको पाइयो’, ग्राहकलाई पहाडको फूलको बारेमा जानकारी गराइसकेपछि उनले भने, ‘यसरी नै विदेशी फूलप्रति आकर्षित हुने हो भने स्वदेशी किसान फूल खेतीमा लाग्दैनन् ।’ आफूले ९ रोपनी जग्गामा फूलको खेती गरेको उनले बताए । ३ दिनसम्ममा फूलको बिक्री भएन भने फूल खेती गर्ने किसान घाटामा जाने उनले बताए ।

स्वदेशमै केही गरौं भन्ने चाहना राख्ने किसानलाई उत्साहित बनाउन सरकारले नीति ल्याउनुपर्ने राई र तामाङको भनाइ छ ।

सजावटका कारण भारतीय फूलतर्फ आकर्षित
भारतीय फूलको सजावटका कारण भारतीय फूलप्रति आकर्षित भएको ग्राहकको भनाइ छ । ‘स्वदेशी फूल बोटैसँग बेच्न राखिएको हुन्छ अनि भारतीय फूल मालामा उनिएर आएको हुन्छ’, ग्राहक विकास घिमिरेले भने, ‘त्यसैले माला उन्न झण्झट मान्नेले भारतीय फूल रोज्छन् । भारतीय फूल सजाएर पनि राखिएको हुन्छ ।’ उनका अनुसार आफ्नै हातले माला उन्ने अनि मालाबाहेक अन्य काम गर्न चाहिने फूल किन्ने ग्राहकले नेपाली फूल नै रोज्ने उनी बताउँछन् ।

flower byapar  (12) flower byapar  (5) flower byapar  (13) flower byapar  (7) flower byapar  (17) flower byapar  (2) flower byapar  (11) flower byapar  (15) flower byapar  (1)