विराटचोकः कात्तिक १७ गते शनिबार साँझ ७ बजे मोरङको सुन्दरहरैंचा–७ गोठगाउँ (पुष्पाञ्जली चोक) मा रहेको गोविन्द दुलालको घरमा आगलागी भयो । आगलागीले घरको सम्पूर्ण सामान नष्ट भयो । परिवारका सदस्यले जीउमा लगाएको कपडाबाहेक कुनै पनि सामान निकाल्न पाएनन् ।

आगो लागेको थाहा हुनासाथ सुन्दरहरैंचाको दमकललाई जानकारी गराए पनि दमकल समयमै आउन सकेन । नगरपालिकाको कार्यालयबाट लगभग ५ किलोमिटर टाढा रहेको घटनास्थलमा दमकल आइपुग्न ४५ मिनेट लाग्यो । दमकल आइपुग्दा घर पूर्ण रूपमा जलेको हुनाले कुनै पनि जिन्सी सामान बच्न सकेन । दमकल ढिलो आएकोमा आक्रोशित भीडले दमकल तोडफोड गर्ने र दमकलका कर्मचारीमाथि हातपात गर्ने प्रयास पनि गरे ।

गत भदौ २० गते बिहान ५ बजे सुन्दरहरैंचाकै वडा नम्बर ७ को तुलसा टोलमा आगलागी भयो । विद्युत सर्ट भई फ्रिजबाट शुरु भएको आगोले भीमा श्रेष्ठको घर जल्दा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भयो ।

भुइँतल्ला पक्की भए पनि माथिल्लो तला सेन्ट्री बेरा गरिएको सो घरको माथिल्लो तलाबाट फैलिएको आगोले तुरुन्तै पूरै घर नष्ट ग¥यो । घरका सदस्य उठिनसक्दै आगो लागेको र आगो लागेको थाहा पाइसक्दा घरभित्र पस्ने स्थिति नरहेकाले बढी क्षति भएको स्थानीयले बताए ।

सो घटनामा पनि दमकल ढिलो आएकाले बढी क्षति भएको स्थानीयले बताए । ‘आगो लागेको थाहा पाएपछि बिहान ५ बजे दमकललाई खबर गरेका थियौं’, स्थानीय विदुर दाहालले भने, ‘तर, विराटचोकबाट गोठगाउँमा दमकल आइपुग्न झण्डै १ घण्टा लाग्यो ।’ सुन्दरहरैंचाको दमकललाई खबर गरेको आधा घण्टापछि इटहरीको दमकललाई खबर गर्दा दुवै दमकल सँगसँगै आइपुगेको स्थानीयले बताए । दमकल ढिलो आएको भन्दै स्थानीयले दमकलमा ढुङ्गामुढाको प्रयास पनि गरे ।

त्यस्तै, अघिल्लो वर्ष सुन्दरहरैंचाको सलकपुरको एक घरमा आगलागी हुँदा पनि समयमै दमकल आइपुगेन । विराटचोकबाट ३ किलोमिटर टाढाको दूरीमा रहेको सलकपुरमा दमकल आइपुग्न ४५ मिनेट लगाएको भन्दै स्थानीयले घटनास्थलमै नाराबाजी गरे ।

यी ३ वटा घटनाले सुन्दरहरैंचाको दमकल सेवा कत्तिको प्रभावकारी छ भन्ने पुष्टि गर्छ । दमकलले दिने सेवा प्रभावकारी भएन भनेर स्थानीय जनप्रतिनिधि र नगरप्रमुखलाई जानकारी गराउँदा पनि गुणस्तर सुधार्न ध्यान नदिएको नगरवासी बताउँछन् । दमकल पानी नभरी राख्ने गरिएको अनि दमकलका कर्मचारी दक्ष पनि नभएको नगरवासीले आरोप लगाउने गरेका छन् ।

फोन आएको २ मिनेटभित्रमा दमकल ‘मुभ’ हुन्छ
उता, सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकाल भने नगरपालिकामा फोन आएको २ मिनेटभित्रै दमकल हिँडिसक्ने बताउँछन् । ‘दमकल ढिलो घटनास्थल जान्छ भन्ने भनाइमा सत्यता छैन’ मङ्गलबार साँझ फोन सम्पर्कमा मेयर ढकालले भने, ‘दमकलको फोन आउनासाथ सेक्युरिटीले साइरन बजाउँछ । दमकलका कर्मचारी छरिएर बसेका रहेछन् भने तुरुन्तै भेला हुन्छन् र घटनास्थलतिर जान्छन् ।’

दमकलमा पानी भरिएको हुन्छ र हावा पनि सधैं चेक गरिन्छ
मेयर ढकाल दमकलमा सधैं पानी भरेर राख्ने गरिएको बताउँछन् । ‘तपाईं अहिल्यै पनि हेर्न आउन सक्नुहुन्छ अथवा भोलि पर्सि जहिले आएर हेर्नुहोस् दमकलमा पानी भरिएको देख्नुहुनेछ’, मेयर ढकालले भने, ‘दमकलमा इन्जिन स्टार्ट गरेर बिहान ५ बजे हावा भरिएको हुन्छ ।’

गोठगाउँमा भएको पछिल्लो आगलागीको घटनामा ७ बजेर ५७ मिनेट जाँदा दमकलको लागि फोन आएको र ८ बजेर ४ मिनेट जाँदा घटनास्थलमा दमकल पुगिसकेको उनले बताए । मेयरलाई असफल बनाउने क्रममा पछिल्लो समय दमकलको सेवा प्रभावकारी नभएको भनेर विशेषगरी विपक्षीले आरोप लगाएको उनले बताए । घटनास्थलबाट समयमा दमकललाई फोन नगर्ने गरेकाले समयमै दमकल पुग्न नसकेको उनले प्रष्ट्याए ।