सिन्धुपाल्चोकः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले मेलाम्ची र हेलम्बुका बाढी पीडितसँग भेटेका छन् ।

असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा अकल्पनीय बाढीले ती क्षेत्रमा अपुरणीय क्षति पु¥याएको थियो । उनले बाढीबाट थप नदी कटान हुन नदिन बजेटको चिन्ता नगरी काम गर्न सरोकारवाला पक्षलाई निर्देशन दिएका छन् । ‘पुननिर्माणमा बजेटको अभाव हुँदैन । सरकारले पुननिर्माणमा पहिलो प्राथमिकता दिन्छ,’ उनले भने । मन्त्री तामाङले तत्काल पीडितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउने गरी काम थाल्न निर्देशन दिए । ‘पहिलो प्राथमिकता पीडितलाई अस्थायी बासको व्यवस्था गर्नु हो, स्थायी रुपमा पुनःनिर्माणको काम पनि साथ साथै अघि बढ्छ,’ उनले भने ।

सिन्धुपाल्चोकका बाढीपीडितलाई रु १ करोड

बाग्मति प्रदेश विपद् व्यवस्थापन समितिले सिन्धुपाल्चोक जिल्लालाई तत्काल रु १ करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा सोमबार बसेको सो समितिको बैठकले सोे निर्णय गरेको हो । उद्योग, पर्यटन तथा वन मन्त्री शरेस नेपालले बैठकले सिन्धुपाल्चोक लगायत प्रदेश भित्रका बाढीपहिरो प्रभावित क्षेत्रमा रोकथाम, संरक्षण र सहज वातावरण बनाउन तत्काल रु ५ करोड सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले बैककले सिन्धुपाल्चोक र चितवनको नदी नियन्त्रणको लागि रु ५० लाख दिने निर्णय गरेको बताए ।

अन्य जिल्लालाई पनि सम्भावित जोखिम कम गर्न लागि रु २५ लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मनसुन सुरु भएको पहिलो हप्तामै सिन्धुपाल्चोकको मेलम्ची खोला र इन्द्रावति नदीमा आएको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका प्रभावित बनेको छ । मेलम्ची खोला र इन्द्रावति नदीमा आएको बाढीले काभ्रे भुम्लु गाउँपालिकाको दोलालघाट बजार पनि प्रभावित बनेको छ । -रासस