इटहरीः मोरङको सुनवर्षी नगरपालिका ८ स्थित विश्वकर्मा चौकमा लागूऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी ७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी ७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समिर चौधरी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो बेलुका ७ः३० बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको तीन जना सवार रहेको प्रदेश १ ०२ ०४५ प ३९७३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउनसुगर फेला पारी मोटरसाइकलसहित पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी, सोही स्थान सुनवर्षी नगरपालिका ८ स्थित विश्वकर्मा चौकमा गएराति ९ः१५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे नगरपालिका ४ का २५ वर्षीय प्रकाश लिम्बू र २० वर्षीय बिमल तामाङ रहेका छन् । दक्षिणबाट आउँदै गरेको को ४ प ९१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट डाइजेल्याब १० पिस २ एमएल फेनारगन १० पिस २ एमएल आईपीईएल १० पिस र ट्रमोल २०० ट्याब्लेट फेला पारी मोटरसाइकलसहित पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जना अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाहीको प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।