धरानः सुनसरीको धरानमा कोभिड १९ अस्पतालबाहिर निर्माण भएको कुरुवा घर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।

सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षिय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरे । कार्यक्रमका अध्यक्ष समेत रहेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत बिरामीको आफन्तहरुलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए । बिरामीका आफन्तहरु अत्यन्तै अव्यवस्थित तरिकाले अस्पतालबाहिर बसेको गुनासो आएपछि शौचालय र स्नानघरसहितको कुरुवा घर निर्माण गरिएको उनले जानकारी दिए । मेयर राईले यहाँ कुरुवा घर बनाउन पनि चुनौतिपूर्ण रहेको बताए । मेयर राईले कुरुवाहरुको लागि सूचना पाटी राख्नसमेत प्रतिष्ठानलाई आग्रह गरेका छन् । ‘कम्तिमा प्रतिष्ठानले मैले अस्ति पनि भनेको थिए, एउटा सूचना बोर्ड राखिदिनुस् कुरुवाहरुको लागि, एउटा बिरामीका लागि कति जना कुरुवा बस्छ, ईन्ट्रि गराउनुस् नाम, को को बस्छ ? ब्रिफिङ गर्ने समय तालिका बनाउँनुस्, कुरुवाको नाममा फटाहा मानिसहरु आउला, कसैको सामान हराउला,’ मेयर राईले भने । मेयर राईले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले धरानमा थुप्रै सामाजिक कार्यहरु गरेको बताउँदै प्रशंसा गरेका थिए ।

197544706_3974816669297761_8056031776860970810_n

उपमेयर मञ्जु भण्डारीले बिरामीको आफन्तको लागि मारवाडी सेवा समितिले कुरुवा घर निर्माण गरेर परोपकारी कार्य गरेको बताए । अस्पतालमा उपचाररत बिरामीको सहि ढंगबाट उपचार हुनुपर्नेमा उनले जोड दिए । कुरुवा घरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न पनि उनले सुझाव दिएका छन् । बीपी प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर डा. गुरु खनालले कोभिड अस्पतालमा कुरुवा घर आवश्यक रहेको बताउँदै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभालाई धन्यवाद दिएका छन् । प्रतिष्ठानले अब कुरुवा घरको व्यवस्थित तरिकाले संरक्षण गरेर राख्ने बताए । मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले मेयरले आफूलाई आग्रह गरेपछि कुरुवा घर निर्माण गरिदिएको बताए । ‘संक्रमितका आफन्तहरु कोभिड अस्पतालबाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछि मेयर साबको पहलमा व्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामीले निर्माण गरिदिएका छौंं,’ उनले भने । उनले १८ फिट चौडाइ र ८० फिट लम्बाइ भएको कुरुवा घर, १८ फिट चौडाइ र १२ फिट लम्बाइ भएको शौचालयसहितको स्नानघर प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जानकारी दिए । १८ लाख रुपैयाँको लागतमा कुरुवा घर निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए । उनले पनि कुरुवा घरलाई संरक्षण गरेर राख्न आग्रह गरे । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, नेपाल अग्रवाल सभाका अध्यक्ष पवन अग्रवाल, धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकार जेके साम्पाङ, न्यायिक समितिका सदस्य विकास बनेपालीको उपस्थितिमा कुरुवा घर हस्तान्तरण गरिएको थियो ।