इटहरीः रानी–विराटनगर–इटहरी–धरान सडक परियोजनाअन्तर्गत अहिले सडक विस्तारको काम धमाधम भइरहेको छ ।

कुल २२ वटा ठेकेदार कम्पनीले सडक परियोजनाको १७ ठाउँको ठेक्का लिएका छन् । परियोजनाका इजिनियर उपेन्द्र दासका अनुसार अहिले न्यूनतममा ६० प्रतिशत र अधिकतममा ९५ प्रतिशत काम सम्पन्न भएको छ । १७ वटामध्ये अहिले १० ठाउँको ठेक्काको लागि सम्पन्न मीतिदेखि ६ महिना म्याद थप गरिएको उनले जानकारी दिएका छन् । म्याद थप हुने ठेक्कामा रानीको नहरदेखि एस लाल पम्पसम्मको खण्डको ३ किलोमिटर सडकमा सम्पूर्ण काम सम्पन्न भएर ‘ड्रेन कभर’ राख्ने काम हुँदै छ । परियोजनासँग गरिएको ठेक्का सम्झौता अनुसार गत वर्षको पुष ९ गते नै काम सम्पन्न गर्ने भनिएको थियो । तर, कोरोना माहामारी र विविध कारण देखिउँदै ठेकेदारले म्याद थप गर्न माग गरेका थिए । त्यसपछि यस खण्डको लागि ६ महिना अर्थात् आगामी असार ९ गतेसम्मको लाग म्याद थपिएको थियो ।

यो खण्डको ठेक्का कालिका कन्सट्रक्सन जेभी र कान्छाराम कन्सट्रक्सन जेभीले संयुक्त रुपमा लिएका थिए । यस्तै, गत वर्षको फागुन ६ गते नै निर्माण सम्पन्न गर्नेगरी ठेक्का लगाइएको एस लाल पम्पदेखि बरगाछिसम्मको सडकखण्डका लागि पनि ६ महिनाको म्याद थपिएको छ । जुन म्याद आगामी भदौ ६ गते सकिने छ । अहिलेसम्म यो खण्डमा ८० प्रतिशत काम सम्पन्न भएको परियोजनाका इन्जिनियर दासले जानकारी दिएका छन् । यो सडक खण्डको लम्बाइ ३ दशमलव २ किलोमिटर रहेको छ । परियोजनाले डी.डी.सी देखि टंकी सम्मको २ दशमलव २ किलोमिटर सडक खण्डको लागि पनि म्याद थप गरे पनि मिति गुज्रिसकेको छ । तथापि यो सडकखण्डमा अझै १० प्रतिशत काम बाँकी रहेको छ । यस्तै टंकिदेखि बाँसबारी सम्मको १ दशमलव ९२५ किलोमिटर सडकखण्डको पनि गत वर्षको पौष ९ गते नै म्याद सकिएको थियो । पुनः ६ महिन म्याद थपिएको छ । जसको म्याद बुधबार सकिँदै छ । अझै यसमा १० प्रतिशत् काम सम्पन्न गर्न बाँकी रहेको छ । अन्य काम सम्पन्न भए पनि अहिले यसमा ड्रेन कभर’ लगाउने काम भइरहेको छ ।

एक दिनको अवधि बाँकी रहेकाले काम सम्पन्न हुनेमा आशंका पैदा भएको छ । बाँसबारीदेखि निमुवासम्मको १ दशमलव ८७५ किलोमिटर सडक खण्डमा पनि ६ महिनाको म्याद थपिएको छ । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको यस खण्डको पछिल्लो पटक थपिएको म्याद आगामी भदौ १३ गते गुज्रनेछ । यस खण्डमा पनि ड्रेन कभर’ लगाउने काम भइरहेको छ । यस्तै ७० प्रतिशत काम सम्पन्न भएको बरगाछि–डी.डी.सी सडक खण्डको पनि म्याद थप गरिएको छ । ३ दशमलव २ किलोमिटर लामो यस सडक खण्डमा एम.एस टुण्डी र रमन जेभीले संयक्त रुपमा काम गरिरहेका छन् । त्यसैगरी, ३ दशमलव २ किलोमिटर लामा दुई वटा सडक खण्डमा पनि म्याद थप गरिएको छ । ७० प्रतिशत र ६० प्रतिशत भौतिक प्रगति भएका यी सडक खण्डको क्रमश आगामी भदौ १३ गते र असार १४ गतेसम्मका लागि म्याद थप गरिएको छ ।

यस्तै, इटहरी–आँपगाछि यातायात सडकखण्डको पनि आगामी असार १९ गते म्याद सकिँदै छ । ६५ प्रतिशत काम सम्पन्न भएको यस सडक खण्डका लागि आगामी पौष १९ गतेसम्म ६ महिनाको म्याद थप गरिएको छ । कुल २ दशमलव ४५ किलोमिटर लामो यस सडक खण्डमा अन्य काम सम्पन्न भएर ‘ड्रेन कभर’ लगाउने काम भइरहेको छ । यस्तै आँपगाछि–तरहरा खण्डको २ दशमलव ६४ किलोमिटर लामो सडकखण्डमा पनि आगामी भदौ १३ गतेसम्म ६ महिनाको म्याद थप गरिएको छ । ९० प्रतिशत काम सम्पन्न भएको यस खण्डमा ‘ड्रेन कभर’ लगाइसकेर अन्य आवश्यक काम भइरहेको परियाजनाले जानकारी दिएको छ ।