धरानः धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ ।

आज उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई दुई थान मिनी ट्रिलर हस्तान्तरण गरेका हुन् । किसानलाई मेसिन हस्तान्तरण गर्दै मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरैभन्दा धेरै लागत साझेदारीमा किसानहरुलाई विभिन्न योजनाहरु हस्तान्तरण गरिरहेको बताए । ‘विष्णुपादुकामा चक्लाबन्दी कार्यक्रम खेतको गराहरु सा–सानो गरा त्यसमा एक हल गोरु पनि नअट्ने, त्यसलाई चक्लाबन्दी गरेर, फाँटिलो बनाएर कम्तिमा मेसिनहरु चलाउन सक्ने, ट्याक्टरहरु चलाउन सक्नेगरी योजनाहरु अगाडि बढिरहेको छ,’ मेयर राईले भने । मेयर राईले केन्द्र, प्रदेश र उपमहानगरपालिकाको अनुदानको मात्र भर पर्न नहुने भन्दै किसानले आफैँ पनि लगानी गर्नुपर्ने बताए ।

201792487_192941336067833_898372752048489217_n

 

धरान उपमहानगरपालिकाले स्थानीय भड्डु धानलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले उपमहानगरपालिकामा संघीय सरकारको ससर्त अनुदानको राष्ट्रिय महत्वको बाली प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट कार्यक्रमअन्तर्गत किसानलाई खेत जोत्ने मेसिन उपलब्ध गराइएको जानकारी दिए । उनका अनुसार संघीय सरकारबाट ससर्त अनुदान भनेर २० लाख रुपैयाँ बजेट आएको छ । राष्ट्रिय महत्वको बाली धान पकेट कार्यक्रम सञ्चालनका लागि उक्त बजेट आएको हो । दुई थान खेत जोत्ने मेसिन २ लाख रुपैयाँमा खरिद गरेर कोकाहा बहुउद्देश्यीय कृषि समूहलाई आज हस्तान्तरण गरिएको उनले बताए । उक्त समूहमा १६ जना छन् । लाभान्वित घर परिवार संख्या ४० जना छन् । विष्णुपादुकाको २० हेक्टर जमिनमा भड्डु धान रोप्ने गरिएको उनले जानकारी दिए ।

‘रैथाने बालीलाई संरक्षण गर्न किसानहरुलगायत उपमहानगरपालिकाको साझेदारीमा योजना सञ्चालन भइरहेको छ,’ उनले भने । कृषि समूहका अध्यक्ष मचिन्द्र राईले उपमहानगरपालिकाको कृषि शाखाले धान पकेटको लागि खेत जोत्ने मेसिन मिनि ट्रिलर दिएको बताए । ‘यसमा हामी धेरै खुसी प्रकट गर्न चाहन्छौं, किनभने, परम्परागत खेतिपाति गदा विकास गर्न सकेका थिएनौं, धेरै उत्पादन गरेर अब लाभान्वित हुनेछौं,’ उनले भने । उनले किसानहरुलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले पहिचान गरेर हरेक क्षेत्रमा सहयोग गर्नुपर्ने बताए ।