धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक अस्पतालमा उपचार गराइरहेकी मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया डुकादेवी दर्जी तामाङ (सोना) र उनका परिवारलाई भेटघाट गर्दै धरानका दलित अधिकारकर्मीले असार ८ गते घटनाको विस्तृत जानकारी लिएका छन् ।

उक्त अवसरमा दलित विकास समिति, दलित महिला सञ्जाल र दलित युवा सञ्जालको संयुक्त पहलमा दलित महिला सञ्जालले नेतृत्व गर्दै १० हजार नगद सहयोग गरिएको दलित महिला सञ्जालकी प्रवक्ता कञ्चन पाँचकोटीले जानकारी दिएकी छन् । पीडक पक्षले पीडित पक्षलाई आर्थिक प्रलोभनमा पारी मुद्दा फिर्ता लिन दबाब दिएको बुझिएपछि घटनाका विषयमा थप जानकारी लिन धरानका दलित अगुवाहरु प्रतिष्ठान गएको दलित विकास समितिका सदस्य सचिव तारा लामगादेले बताए । पीडितकी आमा देवी दर्जीले भनिन्, ‘छोरीको उपचार गर्न पैसा छैन, पीडकहरु आएर उपचार खर्च दिन्छौं मुद्दा फिर्ता लिनू भन्छन् ।’ उनले भनिन्, ‘हिजो महिला सञ्जाल धरानबाट चेतना श्रेङ्ग आएर ५ हजार नगद दिनुभो, यसअघि ५० हजार खर्च भइसकेको छ । वडाध्यक्ष चरण गुरुङ्गले १५ हजार गाउँपालिकाको तर्फबाट भन्दै दिनु भएको थियो । अहिले हामीलाई छोरी बचाउन पैसा चाहिएको छ र न्याय पनि चाहिएको छ सक्दो सहयोग गरिदिनुहोला ।’

उक्त अवसरमा दलित महिला सञ्जालकी सकुन्तला भुषालको नेतृत्वमा सञ्जालका पदाधिकारी तथा सदस्यहरु, दलित विकास समितिका सदस्य केदार बराइली, न्यायिक समिति धरान उपमहानगरपालिकाकी सदस्य सावित्रा परियार, दलित मुक्ति अभियानका रोशन पोर्तेल, दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेर, दलित अधिकारकर्मीहरु जमुना तिखत्री, सुनिता सिन्चेउरी, शान्ति तिखत्री, विमला शंकर, लोकेश बराइली लगायतको उपस्थिति रहेको थियो । अधिकारकर्मीहरुले भनेका छन्, ‘पीडकलाई प्रहरीले तत्काल पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार खर्च व्यहोर्न लगाउनुपर्नेछ । प्रहरी प्रशासनले त्यसो गरेन भने हामी सडकमा उत्रन बाध्य हुनेछौं ।’ गत असार १ गते मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तिकी २५ वर्षीया सोना भनिने डुकादेवी दर्जी तामाङलाई छिमेकी चन्द्रमाया (विन्दा) मगर, पुष्पा मगर र नियरमाया मगरले कुटपिट गरी खोलामा फालिदिएका थिए । गरिब तथा विपन्न दलित समुदायकी सोना (डुका) लाई कथित सानो जात भएकै कारण त्यसअघि पनि बिन्दा मगर लगायतले पटक पटक जातीय गालीगलौज गर्दै आएको (सोना) शोभाका बुबा हर्कबहादुर दर्जीले बताए ।

उक्त दिन शोभालाई मरणासन्न हुनेगरी कुटपिट गरेर खोलामा फालिदिएको खबर गाउँलेबाट थाह पाएपछि शोभाको उद्धार गरेर मेडिकलसम्म पु¥याएका थिए । स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि कानेपोखरी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङको रोहवरमा १५ हजार उपचार खर्चसमेत दिई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शोभालाई ल्याइएको थियो । २ महिनाकी गर्भवति समेत रहेकी शोभालाई मगर परिवारले टाउकोसहित शरीरका विभिन्न भागमा कुटपिट गरेका कारण मानसिक सन्तुलन गुमाएकी छन् । प्रतिष्ठानको मानसिक कक्षमा डोरीले बाँधेर उपचार गरिरहेको अवस्था देखिएपछि घटना सार्वजनिक भएको हो । त्यस अवस्थासम्म स्थानीय, प्रहरी प्रशासन र जनप्रतिनिधिले पीडितलाई न्याय दिलाउनुभन्दा गुपचुपमै घटना मिलाइसकेका थिए ।

विभिन्न माध्यमबाट दबाब परेपछि कुटपिट गर्ने पुष्पा मगर र नियरमाया मगर पक्राउ परेका छन् । साथै घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायबउपरीक्षक (डिएसपी) कृष्ण खड्काले बताएका छन् । मानसिक सन्तुलन गुमाएकी डुकाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । आर्थिक अभावका कारण उनको स्वास्थ्य परीक्षणसमेत हुन सकेको छैन । प्रतिष्ठानमा डुकालाई अझै पनि डोरीले बाँधेर राखिएको छ भने उनको उपचारमा संलग्न चिकित्सकहरुले सिटिस्क्यान, भिडियो एक्सरे लगायतका रिपोर्ट हेरेपछि मात्र थप उपचार हुने भन्दै त्यसका लागि बिरामीका आफन्तले आर्थिक श्रोत जुटाउनुपर्ने बताएको बिरामीका काका राजन दर्जीले बताएका छन् ।