नयाँ दिल्लीः सोमबार मात्र भारतले एक दिनमै ८६ लाख मानिसलाई कोभिडको सुइ लगाएर नयाँ रेकर्ड कायम गरेको छ ।

नयाँ नीतिमार्फत भारतले खोप अभियानलाई तिव्र पार्ने प्रयास गरिरहेको छ । तर, विज्ञहरुले यही गतिमा अर्को हप्तासम्म खोप कार्यक्रम अघि बढाउन सम्भव नभएको बताइरहेका छन् । सार्वजानिक नीति तथा स्वास्थ्य प्रणालीका विश्लेषक चन्द्रकान्त लहरियाले संचार एजेन्सी रोयटर्ससँग भने, “यो स्पष्ट रुपमा दिर्गकालीन नीति होइन । किनकी आगामी केही महिना सम्मको खोप प्रक्षेपणका अनुसार दैनिक खोपको लक्ष्य ४० देखि ५० लाख डोज सम्म हुनुपर्छ ।” त्यसैले अत्यन्तै ठूलो स्तरमा उत्पादन वृद्धि नगरेसम्म खोपको चरम अभाव सुरु हुने निश्चित रहेको विज्ञहरुको निष्कर्ष छ ।

हाल भारतले देशभर सम्पूर्ण जनतामा निःशुल्क खोप लगाइरहेको छ । यसअघि खोपको चरम अभाव पश्चात् मानिसहरु सहरका निजी अस्पतालबाट प्रति डोज ९ देखि २४ डलरसम्म तिरेर आफूलाई सुरक्षित राख्न बाध्य बनेका थिए । यो नयाँ नीतिमा सरकारको लक्ष्य वर्षको अन्त्यसम्म देशभरका झन्डै ९५ करोड योग्य वयश्कहरुलाई दुवै डोज खोप लगाइसक्नु रहेको छ । तर, सरकारी तथ्यांक अनुसार अझैपनि भारतको केबल पाँच प्रतिशत जनसङ्ख्याले मात्र पूरा डोज खोप प्राप्त गरेको छ भने २० प्रतिशतभन्दा कमले कम्तिमा एउटा डोज लगाएका छन् ।

विश्वकै सबैभन्दा ठूलो खोप निर्माता भए पनि मे महिनादेखि भारतले प्रतिदिन ३० लाख डोजभन्दा थोरै डोज वितरण गरिरहेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा, जहाँ देशको दुई तिहाई जनसङ्ख्या बसोबास गर्दछ, त्यहाँ उचित स्वास्थ्यसेवा नहुँदा खोप अभियान सुस्त बनेको पाइएको छ । सरकारी निकायका अनुसार नयाँ दिल्लीमा मात्र ८० लाख नागरिकले पहिलो डोज खोप लगाउनै बाँकी छ । अहिलेको गतिमा सबैलाई खोप लगाइसक्न एक वर्ष लाग्नेछ । हाल नयाँ संक्रमितको दर देशव्यापी रुपमा घटिरहेको भए पनि तिव्र रुपमा फैलन सक्ने भेरियेन्टबारे विज्ञहरुले चिन्ता जनाइरहेका छन् । भारतमा कोरोनाका कारण ३ लाख ८९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । -रोयटर्सबाट