फिट हुन, आफूले चाहे अनुसारको ‘बडी’ बनाउन महिनौँ मिहिनेत गर्नुपर्छ । शारीरिक व्यायाम अर्थात ‘एक्सरसाइज’ गर्न छाड्ने हो भने हामीलाई बडी बनाउन जति समय लागेको थियो त्योभन्दा धेरै छिटो शरीरको बल हराउने पनि गर्दछ । तर, यसका वावजुद एक्सरसाइज गर्न छाडिसकेको शरीरलाई पुनः पहिलेकै अवस्थामा फिट राख्नलाई हामीले सुरुवातदेखि प्रयास नगर्नुपर्ने हुन सक्छ । एक पटक एक्सरसाइज गरेर प्राप्त गरेको फिट शरीर हामीले कतिन्जेल कायम राख्नु पर्ला भन्ने विषयमा धेरैको जिज्ञासा रहँदै आएको छ । र, वास्तविकतामा हामीले शारीरिक अभ्यासमा जति नै कडा मिहिनेत गरे पनि केही समयका लागि यसबाट ‘ब्रेक’ लिनुको अर्थ शरीरको आकार फिट बनाएभन्दा धेरै कम समयमा हामी ‘अन–फिट’ हुन थाल्नेछौँ । शरीर कसरी अन–फिट हुन्छ भन्ने कुरा बुझ्न पहिले त हामीले फिट कसरी भइन्छ भन्ने जान्न जरुरी छ ।

फिट हुने सबैभन्दा मुख्य कारक भनेको हाम्रो ‘कार्डियोभास्कुलर’ अर्थात मुटु र रक्तनली सम्बन्धी क्षमतामा सुधार ल्याउनु या मांसपेशीको शक्ति बढाउनु हो । यसलाई अर्को अर्थमा शारीरिक क्षमता वृद्धि गर्नु पनि भन्न सकिन्छ । यसमा हामीले शरीरलाई बानी परेकोभन्दा धेरै गतिविधि गर्न सक्ने बनाउनुपर्ने हुन्छ । त्यही व्यायामले शरीरमा लगातार स्ट्रेस पारिरहन्छ अनि हामीलाई पहिलेभन्दा धेरै क्षमतावान् र सहनशील बनाउनेछ र अन्ततः फिटनेसको स्तर वृद्धि गर्नेछ । यसमा हामीलाई फिट हुन लाग्ने समय विभिन्न कुराहरुमा निर्भर हुन्छ जस्तै कि व्यक्तिको शारीरिक अवस्था, उमेर, कति कडा व्यायाम गरेको छ र एक्सरसाइज गर्ने वातावरणले समेत यसमा फरक पार्न सक्छ । उदाहरणको लागि तापमान र प्रदूषण जस्ता कुराले व्यायाम प्रतिको हाम्रो मनोवैज्ञानिक प्रतिक्रियामा प्रभाव पार्ने गर्दछ ।

तर पनि केही अध्ययनहरुका अनुसार केबल छ वटा चरणका ट्रेनिङले पनि पूरै शरीरको फिटनेस वृद्धि गराउन सक्छ र हाम्रो सेलमा स्टोर भएको ‘सुगर’ अर्थात ऊर्जाको प्रभावकारी प्रयोगमा पनि सुधार ल्याउन सक्छ । यसमा बल बढाउने ट्रेनिङ अन्तरगत मांसपेसीलाई दुई हप्तामै बलियो बनाउन सकिन्छ तर स्पष्ट रुपमा यसको आकार बदलिएको देख्नका लागि भने आठदेखि १२ हप्ता लाग्दछ ।

कार्डियो फिटनेस
जब हामीले शारीरिक व्यायाम गर्न छाड्छौँ तब हामीले छिटै आफ्नो फिटनेस गुमाउनु पछाडिको कारण धेरै कुरामा निर्भर हुन्छ । उदाहरणका लागि हामीले म्याराथोनमा दौडिनेलाई हेर्यौँ भने खेलाडीका रुपमा सो व्यक्तिले हप्तामा पाँच देखि ६ दिनसम्म अभ्यास गरिरहेको हुन्छ । प्रायः खेलाडीहरुले वर्षौँ लगाएर त्यस किसिमको फिटनेस स्तर निर्माण गरेका हुन्छन् । अब मानौँ उनीहरुले अचानक पूर्ण रुपमा सबै शारीरिक अभ्यास बन्द गरे भने अब शरीरले ट्रेनिङको स्ट्रेस बेहोर्नु पर्नेछैन र मसल्सहरु पनि फिट रहन बाध्य हुँदैनन् र केही हप्तामै ती खेलाडीले आफ्नो फिटनेस गुमाउन थाल्छन् । यसरी कार्डियोभास्कुलर फिटनेस व्यक्तिको ‘भिओ–टु म्याक्स’ अर्थात एक्सरसाइजका समयमा व्यक्तिले कति मात्रामा अधिकतम अक्सिजनको प्रयोग गर्न सक्छ भन्ने कुरामा पनि निर्भर हुन्छ ।

र, यही भीओ–टु मान्छेले एक्सरसाइज गर्न छाडेको पहिलो चार हप्तामा १० प्रतिशतले घटिरहेको हुन्छ । यसपछि लामो समयसम्म एक्सरसाइज नगर्दा यो निरन्तर घटिरहन्छ तर कम दरमा । यसरी खेलाडीहरुका लागि भने पहिलो चार हप्ता भीओ–टुको स्तरमा ठूलो गिरावट देखिए पनि बिस्तारै त्यो औसत स्तरमा पुगेर रोकिदै जानेछ । तर साधारण मान्छेमा भने भीओ–टु म्याक्स तिव्र रुपमा झरेर आठ हप्ताभन्दा कम समयमै एक्सरसाइज गर्नु अगाडिको अवस्थामा पुग्ने गर्दछ । भइओ–टु म्याक्स त्यसरी घट्नुको कारण भनेको रगत र प्लाज्माको मात्रामा कमी आउनाले हो जुन पहिलो चार हप्तामा १२ प्रतिशतले घटिरहेको हुन्छ । हाम्रो मुटु र मांसपेसीमा एक्सरसाइजका कारण पैदा हुने स्ट्रेस नपर्ने हुनाले नै प्लाज्मा र रगतको मात्रा घट्ने गरेको हो । प्लाज्माको मात्रा एक्सरसाइज गर्न छाडेको पहिलो ४८ घण्टामै पाँच प्रतिशतले कम हुने गर्दछ ।

बल बढाउने ट्रेनिङ
एक्सरसाइजले हाम्रो शरीरलाई पहिलेभन्दा बलियो बनाउने गर्दछ । र, औसत व्यक्तिमा शारीरिक व्यायाम गर्न छाडेको १२ हप्तापछि नै त्यो बलको स्तर पनि घट्ने गर्दछ । र, हामीले पहिले जसरी भारी तौल उठाउन सक्न पनि छाड्छौँ । तर, अध्ययनका अनुसार एक्सरसाइज नगर्दा हाम्रो शारीरिक बलमा उल्लेखनीय कमी आए पनि ‘मसल फाइबर’ को आकार भने एकदम थोरैले मात्र घट्ने गर्दछ । मांसपेसीमा स्ट्रेस पर्न छाड्ने हुनाले नै हाम्रो शरीरमा बल घट्दै जान्छ । हामीले एक्सरसाइज नगर्दा मांसपेसीको काम कम हुन पुग्छ र यो अल्छि बन्दै जान्छ जसकारण नै शरीरमिा बल पनि हराउँदै गएको हो । एक्सरसाइज गर्दा हामीले प्राप्त गरेको ‘मसल फाइबर’ को सङ्ख्या एक्सरसाइज छाडेको दुई हप्ता भित्र नै १३ प्रतिशतले घट्ने गर्दछ जसको अर्थ मांसपेसीको आकार सानो हुँदै जानेछ ।

जिममा भारी तौल उठाउनेहरुलाई एक्सरसाइज गर्न छाडेपछि त्यत्तिको भारी तौल उठाउन धेरै कठिन पर्दै जानेछ । यसरी निष्कर्षमा भन्नुपर्दा फिट रहन हामीले अत्यन्तै कडा मिहिनेत गरे पनि यसबाट ब्रेक लिएको ४८ घण्टामै हाम्रो कार्डिओभास्कुलर फिटनेस र बल घट्न सुरु हुन्छ । तर, शरीरले त्यसरी बल गुमाउँदै गएको कुरा हामीले दुईदेखि तीन हप्तापछि मात्र आभास गर्न थाल्छौँ । महिला र पुरुष अनि बढी उमेरका खेलाडीहरुमा समेत यो उत्तिकै स्तरमा लागु हुन्छ । यसमा हामी जति धेरै फिट छौँ एक्सरसाइज नगर्दा त्यति नै कम गतिमा फिटनेस गुमाइरहेका हुन्छौँ । -बीबीसीबाट