इटहरीः सुनसरी जिल्ला प्रशासन कार्यालयमा असार ६ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा खुकुलो बनाएको छ ।

सबै प्रकारका व्यापार व्यवसाय बिहान ५ बजेदेखि मध्यान्न १२ बजेसम्म खोल्न पाइने भएको छ । यसका साथै साताको तीन दिन मात्र सञ्चालनमा आएका बैंक तथा वित्तीय संस्थाले भने पूर्ववत अवस्थामा जस्तै साताभर नै सेवा सञ्चालन गर्न पाउने भएका छन् । यसरी समयावधि तोकेरै भए पनि व्यवसाय सञ्चालन गर्न प्रशासनले आदेश दिएकोमा व्यवसायीले राहत महसुस गरेको प्रतिक्रिया दिएका छन् । ‘लामो सयमसम्म व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा हामी धेरै मारमा परेका थियौँ’, उद्योग वार्णीज्य संघ इटहरीका उपाध्यक्ष अनिल सुब्बाले भने, ‘यसले व्यापारीलाई घर भाडाको मार, करको मार, बैंकको ऋणको मार परेको थियो । तर अहिले पसल खुलाउन दिएकाले व्यवसायीलाई केही सहज भएको छ ।’ कोरोना महामारी कम नभएकाले आफूहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर नै व्यवसाय सञ्चालन गरेको उनले जानकारी दिएका छन् ।

dress pasal

 

व्यवसायीहरुमा कोरोनाको डरभन्दा पनि व्यवसाय सञ्चालन गर्न पाउँदाको हर्ष बढी देखिन्छ । तर, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा खुकुलो पार्नाले झन् संक्रमणको खतरा बढेकोमा चिन्ता व्यक्त गरेका छन् । ‘जति मानिसहरुको चलहपहल भयो यसले आम मानिस र हामी प्रहरीलाई पनि गाँज्ने अवस्था रहन्छ’, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक गणेशप्रसाद भट्टराईले भने, ‘संक्रमणको चेन तोड्नलाई लकडाउन गरिएको थियो । त्यसैले यसमा प्रहरीले मात्र होइन, आम नागरिक, पेसाकर्मी, व्यवसायीलगायत सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने आवश्यकता छ ।’ व्यक्तिगत सुरक्षासँगै पसलमा आउने ग्राहकलाई केन्द्रित गरेर पसलमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अनिर्वाय रुपमा लागु गर्न उनले अनुरोध गरेका छन् ।