इटहरीः मोरङको विराटनगर महानगरपालिका–१५ स्थित भट्टा चोकमा मन्दिर निर्माणको क्रममा करेन्ट लागेर एक जना भारतीय नागरिकको ज्यान गएको छ ।

मृत्यु हुनेमा बजरङ्गबली मन्दिर निर्माणमा संलग्न मजदुर भारतको बिहार राज्यअन्तर्गत अररिया जिल्लास्थित जोगवनीका २५ वर्षीय तावारूल आलम रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार निर्माणाधीन मन्दिरको रड बाँध्ने तार काट्ने क्रममा मेसिनबाट विद्युत चुहावट हुँदा करेन्ट लागेर गम्भीर घाइते भएका आलमलाई उपचारार्थ विराटनगरकै न्युरो अस्पताल पठाइएकोमा उपचारका क्रममा दिउँसो १ः४५ बजेतिर उनको मृत्यु भएको हो । घटनाबारे विस्तृत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।