इटहरीः मोरङको सुन्दरहरैँचामा कवाडी सङ्कलनको काम गर्दै आएका एक भारतीय नागरिकको शव फेला परेको छ ।

४५ वर्षीय सुरेन्द्र चौधरीको शव आज दिउँसो २ बजे सुन्दरहरैँचा नगरपालिका–१० सुन्दरमार्गस्थित सडक छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार भारत घर भएका चौधरी सुन्दरहरैँचा–१२ खोर्सानेमा कवाडी सङ्कलनको काम गर्दै आएकोमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोली घटनास्थलमा पुगी मुचुल्का संकलन गरेको तर मृत्युको कारण खुल्न बाँकी रहेको डीएसपी राईले जानकारी दिए ।