काठमाडौँः गत सोमबारको मन्त्रिपरिषद् बैंठकले श्रम गन्तव्य मुलुकहरूलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गर्यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि श्रम गन्तव्य मुलुकहरूलाई लक्षित गरी उडान खुला गर्न सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सोही निर्णय अनुसार बुधबार मन्त्रालयले आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्थाका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दियो । मन्त्रालयले आगामी असार १७ गतेदेखि आन्तरिक एवम् मन्त्रालयले तोकेको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न भनेको छ । तर, बुधबार अन्तर्राष्ट्रियतर्फको उडान संख्या तोक्दा श्रम गन्तव्य मुलुकलाई ध्यान नदिएको गुनासो प्राधिकरणका अधिकारीहरूले नै गरेका छन् ।

मन्त्रालयले जुन २४ देखि ३० जुनसम्मको उडान तालिका नै प्राधिकरणलाई पठाएको छ । जस अनुसार दोहाका लागि ७ उडान संख्या तोकिएको छ । त्यसमा ३ वटा नेपाल वायुसेवा निगम र ४ वटा कतार एयरवेजका लागि तोकिएको छ ।

यस्तै दुबईका लागि तीन वटा उडान तोकिएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र फ्लाइ दुबईका लागि एक–एक उडान तोकिएको छ ।

टर्कीको इस्तानबुलका लागि ३ वटा उडान दिइएको छ भने दमाम २, कुवेत २, मलेसियाको क्वालालम्पुर एक र आवुधाबी एक उडान तोकिएको छ ।

नेपालको प्रमुख श्रम गन्तव्य मुलुकहरूमा कतार, यूएई, मलेसिया, साउदी अरेबिया, कुवेत, बहराइन हुन् । मन्त्रिपरिषद्ले श्रम गन्तव्य मुलुकलाई लक्षित गरी उडान खोलेको भएपनि उडान तालिका अनुसार श्रम गन्तव्यलाई केन्द्रमा नराखिएको प्राधिकरणका एक अधिकारीले बताए । “हाम्रा श्रमिकहरू कति समस्यामा परेका छन् । तर श्रम गन्तव्य मुलुकका लागि उडान सख्ंया कम तोकियो,” उनले भने ।

मन्त्रिपरिषदले काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने गरी अनुमति दिएको थियो । मलेसियामा साताको चार, काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा सातामा चार, काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कट, दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गरिएको थियो । -बाह्रखरीबाट