इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा पर्यटन क्षेत्रलाई नसमेटिएकोमा पर्यटन व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

नगरसभासमक्ष उपमेयर लक्ष्मी गौतमले प्रस्तुत गरेको बजेट वक्तव्यमा पर्यटन शब्द नै उल्लेख नभएकोप्रति पर्यटन व्यवसायीले आपत्ति प्रकट गरेका हुन् । उपमेयर गौतमले प्रस्तुत गरेको बजेट वक्तव्यमा क्षेत्रगत रुपमा स्वास्थ्य, शिक्षा, कृषि तथा पशु विकास, सामाजिक विकास, युवा तथा खेलकुद, वन, वातावरण तथा सरसफाइ, सूचना तथा सञ्चार, शहरी विकास कार्यक्रम, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास, महिला शशक्तिकरण, दलित तथा विपन्न समुदाय बस्ति विकास कार्यक्रम, उद्योग वाणिज्य र व्यापार, नदी नियन्त्रण, विपद् व्यवस्थापन, र पूर्वाधार विकासजस्ता शीर्षक राखी बजेट विनियोजन गरिएपनि पर्यटन क्षेत्र उल्लेख नै नगरिनु खेदजनक भएको उद्योग वाणिज्य संघ इटहरीका पर्यटन संयोजक एवं होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । उपमहानगरपालिकामा रहेको पर्यटन विभाग नाम मात्रको विभाग भएको पराजुलीको आरोप छ ।

laxmi gautam.

उपमहानगरपालिकाले बजेटमाथि सुझाव माग गर्दा आफूहरुले पर्यटन क्षेत्रलाई समेटेर बजेट बनाउन विभिन्न सुझाव दिएतापनि उपमहानगरपालिकाले नसमेटेको उनले उल्लेख गरे । होटलले मात्र कोरोना सारेझैँ गरी एकतर्फी रुपमा होटल व्यवसाय मात्र बन्द गराउनु गलत भएको पराजुलीको भनाइ छ । यसैगरी, पर्यटन विज्ञ सुनिल भुसालले पर्यटनलाई बजेटमा नसमेटिनु गलत भएको प्रतिकृया दिए । पर्यटन क्षेत्रमा बजेट विनियोजन नहुनु उपमहानगरलाई डुबाउने खेल भएको उनको जिकीर छ । पर्यटन व्यवसायले रोजगारी र पूर्वाधार दुवै विकास गर्ने भएकाले यसमा स्थानीय सरकारको लगानी अपरिहार्य रहेको उनले उल्लेख गरे । महामारीले तहसनहस भएको पर्यटन क्षेत्रको पुनरुत्थानमा नगर सरकारले कुनै चासो नदिएको उनले आरोप लगाए ।

यसैगरी, पर्यटन व्यवसायी तथा अभियन्ता रविन गौतमले पर्यटन नै विकासको मेरुदण्ड रहेको तथ्य जनप्रतिनिधिले बुझ्न नसक्दा पर्यटनमैत्री बजेट नआएको बताए । बजेटले सबै क्षेत्रलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उता, इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले इटहरी क्षेत्रमा पर्यटकीय गन्तव्यको संख्या न्यून रहेकाले नगर सरकारले बजेट विनियोजन नगरेको बताइन् । तालतलैया क्षेत्रमा प्रदेश सरकारले बजेट विनियोजन गरिसकेकाले आफूहरुले गर्नु आवश्यक नरहेको उनको कथन छ । होटल व्यवसायीको माग सम्बोधन नगरिएको आरोपबारे जवाफ दिँदै उपमेयर गौतमले अरुलाई २५ प्रतिशत कर छुट दिँदा पर्यटन व्यवसायीलाई ३० प्रतिशत छुट दिएर प्रोत्साहित गरिएको जिकीर गरिन् । बजेट वक्तव्यले नसमेटेका विषयहरु विनियोजन विधेयक र अर्थ विधेयकमा समेटिने उनले आश्वासन दिइन् ।