इटहरीको मध्य बजार क्षेत्रमा छ इटहरी उपमहानगरपालिका कार्यपालिकाको कार्यालय । र, सो कार्यालयअगाडि छ एक सुन्दर र फराकिलो पोखरी । यो पोखरी इटहरीका हरेक आगलागीमा वरदान साबित भएको छ ।
आज इटहरीको धरान लाइनमा रहेको रेखा पराजुलीको घरमा लागेको आगो चाँडै नियन्त्रणमा चाँडै ल्याउन पनि यही पोखरी महत्वपूर्ण रह्यो । दिउँसो १ बजे लागेको आगो आधा घण्टापछि मात्रै सार्वजनिक भयो । इटहरीमा धरान, विराटनगर, दुहबी, इनरुवा, सुन्दरहरैंचा र आसपासका ८ वटा दमकल आए ।
आफैँ पानी भरेर आएका दमकलको पानी सकिँदा टाढा गएर भर्नु परेन । उनीहरू इटहरी बजार क्षेत्रकै पोखरीबाट धमाधम पानी भर्न थाले । पानी भर्न इटहरीका नगर प्रहरी जेबी राई नेतृत्वको १४ जनाको समूहले सहयोग गर्यो । दमकलहरू आउने, पानी भर्ने र आगो निभाउने काम छिटो भयो । यही कारण ३ घण्टाभित्रै यस्तो विशाल बजार क्षेत्रको आगो नियन्त्रणमा आयो ।

सेल्फी प्वाइन्टदेखि आगलागी नियन्त्रणको सञ्जीवनीसम्म
इटहरीको व्यस्त बजार क्षेत्रमा २३ कट्ठामा रहेको यो पोखरी २०५४ सालपछि बनेको हो । हालका प्रदेश सांसद सर्वध्वज साँवा इटहरीको मेयर र पूर्व सङ्घीय सांसद रेवतीरमण भण्डारी उपमेयर भएको समयमा यो पोखरीलाई मेचीकाली नाम दिइएर व्यवस्थित गरिएको थियो ।

मेचीकाली पोखरी अरुबेला एक सेल्फी प्वाइन्ट हो । स्थानीय सरकारको काममा ढिलाइ हुँदा सेवाग्राहीहरू पोखरीको डिलमा आएर सेल्फी लिन्छन् । उपमहानगरमा काम नहुनेहरू पनि बजारबाट यसो किनमेल गरेर यो पोखरी किनारमा उभिँदै तस्बिर लिन्छन् । उपमहानगर परिसरमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा आउनेहरूको आकर्षणमा यही पोखरी पर्छ । पोखरी आसपास घर हुनेहरूले यही पोखरीलाई पृष्ठभूमि बनाएर सुन्दर तस्बिरहरू लिन्छन् ।
सामान्य अवस्थामा सेल्फी प्वाइन्ट रहेको यो पोखरी आगलागीको दुःखको अवस्थामा आगलागी नियन्त्रणको सञ्जीवनी बन्दै आएको छ । अग्नि नियन्त्रकहरूका अनुसार यो पोखरी इटहरीमा मात्रै होइन आसपासका अन्य क्षेत्रमा आगलागी हुँदा पनि सहयोगी बन्दै आएको छ । इटहरीका भित्री क्षेत्रका आगलागीमा पनि यो पोखरीकै पानी प्रयोग हुने उनीहरू बताउँछन् ।
व्यापारिक भवनको नाममा पोखरी मास्ने जोखिम
इटहरीको यस्तो सुन्दर र अत्यन्तै महत्वको पोखरी मास्न बेलाबेला व्यापारिक स्वार्थी समूहहरू सक्रिय हुने गरेका छन् । इटहरी उपमहानगर परिसर बजारमै रहेकाले यो पोखरी मासेर भवन बनाएर भाडामा लगाउने तर्कहरू पनि बेलाबेला उठ्ने गरेका छन् । उपमहानगरका संरचनाहरूलाई पुनर्निर्माण गरेर व्यापारिक काममा भाडामा दिएर मासिक लाखौँ भाडा लिनुपर्ने तर्क इहटरीका केही व्यापारीहरूले गर्दै आएका छन् । केही राजनीतिक दलका नेताहरूले पनि यो कुरामा समर्थनको भाषा बोल्दै आएका छन् ।

इटहरीमा मेचीकाली पोखरीबाहेक विभिन्न आठ पोखरीहरू छन् । काव्यबाटिका जाने बाटोको पोखरी, तालतलैया, भान्सो पोखरी, एकम्बा र पकलीका पोखरी अनि वडा नम्बर २ को पोखरी आदि इटहरीका मुख्य पोखरीहरू हुन् । यी सबै पोखरीहरूमा इटहरी बजार क्षेत्रको मेचीकाली पोखरी सबैभन्दा पायक छ । इटहरीको खनार क्षेत्रमा त एउटा पनि पोखरी छैन । यस्तो अवस्थामा मेचीकाली पोखरीको महत्व झनै छ ।

त्यसैले यो पोखरीलाई हटाउने होइन पानीको मात्रा घट्न नदिनु आजको आवश्यकता हो । पोखरी वरपर क्रङ्क्रिटका संरचनाहरू बनेर ग्राउन्ड वाटर रिचार्ज नहुँदा पोखरी सुक्ने जोखिम हुन्छ । त्यस्तो हुन नदिन सरोकारवाला सबैले विज्ञको सल्लाह अनुसार पोखरीको दीर्घकालीन संरक्षणमा जुट्नुपर्छ ।
इटहरीको एक सामान्य आगलागीमा करोडौँको थप क्षति जोगाउँछ यो पोखरीले । र, यो पोखरी इटहरीको सुन्दरताको विम्ब पनि बनेको छ । यस्तो सबै कोणमा महत्वपूर्ण यो पोखरीलाई व्यापारिक स्वार्थी समूहबाट जोगाउनु सबै नगरवासीको दायित्व हो ।