इटहरी / इटहरी प्रदेश १ को प्रशासकीय र राजनीतिक केन्द्र नभए पनि प्रदेशस्तरीय कार्यक्रमहरूको लागि भने इटहरी केन्द्र बन्दै गएको छ । यहाँ हरेक दिनजसो हुने कार्यक्रमहरूले यसको पुष्टि गर्छन् ।
हालसालै इटहरी–२० तरहराको रुद्राक्ष पार्टी प्यालेसमा जेसिस नामक संस्थाको प्रदेश १ स्तरीय ३ दिने कार्यक्रम सम्पन्न भयो । केही हप्ता अगाडि इटहरीको होटल त्रियुगामा काठमाडौबाट प्रशारित स्याटलाइट प्रविधिको जनता टेलिभिजनको प्रदेश कार्यालय उद्घाटन भयो ।
इटहरीको विराटनगर लाइनमा रहेको इटहरी बेंक्वेटमा हरेक हप्ता प्रदेश १ मा कारोबार गर्ने विभिन्न डिलरहरूका भेला तथा पार्टीहरू आयोजना हुन्छन् । इटहरीकै गोरखा डिपार्टमेन्ट स्टोरको सभाहलमा पनि प्रदेशस्तरीय विभिन्न कार्यक्रमहरू आयोजना हुँदै आएका छन् ।

इटहरीले धान्न सक्छ दैनिक ५ हजार सेमिनार पर्यटक
सभा, सम्मेलन, सेमिनार आदि कार्यक्रममा सहभागिता जनाउन गरिने स्वदेशी तथा विदेशी भ्रमणलाई पर्यटनकर्मीहरू सेमिनार पर्यटन भन्छन् । पर्यटनमै स्नातकोत्तर गरेका इटहरीको होटल प्रिमियर स्कुलका सञ्चालक सुनिल भुसाल इटहरीमा सेमिनार पर्यटन फस्टाउँदै गएको बताउँछन् । इटहरी प्रदेशभरिका विभिन्न सामूहिक कार्यक्रमहरूको निर्विवाद केन्द्र भएकोले यहाँ सेमिनार पर्यटन फस्टाएको भुसालको तर्क छ ।
इटहरीमा साना–ठूला होटल तथा पार्टी प्यालेस र बेंक्वेटहरूमा ५ हजार भन्दा बढीले एकै दिनमा सभा सेमिनार गर्न सक्ने क्षमता रहेको छ । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीका अनुसार इटहरीका २० वटा पर्यटक क्लासका होटल र १० अन्य होटलका सानाठूला हलमा १ हजार सेमिनार पर्यटकहरू अटाउँछन् । १ सय माथि हजार बढी सम्मको सभा, सम्मेलन र सेमिनारहरूमा भने पार्टी प्यालेसहरू रहेका छन् ।

  • यी हुन् सय जना बढी अटाउने हलहरू
    १. इटहरी बैंक्वेट इटहरी– ९ः १ हजार जना
    २. दुर्गा पार्टी प्यालेस इटहरी –४ ः ७ सय जना
    ३. लायन्स क्लब हल इटहरी –५, ६ सय जना
    ४. रिजाल्स भिजन पार्टी प्यालेस इटहरी–६, ६ सय जना
    ५. आरम्भ पार्टी प्यालेस इटहरी ६ सय जना
    ६. रुद्राक्ष पार्टी प्यालेस इटहरी– २०, ५ सय जना
    ७.प्रिया पार्टी प्यालेस, इटहरी–४, ३ सय जना
    .८. गोरखा डिपार्टमेन्टको सेमिनार हल, २ सय ५० जना
    ९. होटल त्रियुगा, इटहरी, २ सय ५० जना
    .१०. गंगा जमुना पार्टी प्यालेस, इटहरी–५, १ सय ५० जना

वर्षमा २७ हजार समेनिार पर्यटक इटहरी आउने अनुमान
इटहरीमा ठ्याक्कै वार्षिक कति सेमिनार पर्यटकहरू आउँछन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । तर, इटहरीमा एक दिनमा ५ हजार सेमिनार पर्यटकहरू धान्न सक्ने हलहरू छन् । यो हिसाबमा इटहरीले वर्षमा १८ लाख २५ हजार सेमिनार पर्यटकहरू धान्न सक्ने देखिन्छ ।
यो संख्यामा विवाह, पार्टी, सभा, सेमिनार गर्ने एकमुष्ट रूपमा पर्छन । तर, अधिकांश होटलका कार्यक्रमहरू इटहरीका स्थानीय संस्थाहरूकै हुने व्यवसायी बताउँछन् । बिहेको सिजनमा पार्टी प्यालेसहरू व्यस्त हुन्छन् । अन्य समय खालीजस्तै हुन्छन् । चलेका दिन पनि पूर्ण क्षमताले चल्दैनन् । इटहरी बेंक्वेट पनि कुल क्षमताको १० प्रतिशत मात्रै चल्ने सञ्चालक बताउँछन् ।
दिनमा औसत १ हजार अटाउने बेंक्वेटले वर्षमा ३ लाख ६५ हजार धान्न सक्छ । तर, वर्षमा ३६ हजार हाराहारी मात्रै सेमिनार पर्यटकहरू इटहरी बेंक्वेटमा आउने सञ्चालक सुनिल भुसाल बताउँछन् ।
दुर्गा पार्टी प्यालेसको पनि यस्तै उदाहरण छ । दिनमा ७ सय जना मान्छे अटाउने सो प्यालेसमा वर्षमा एक दिने कार्यक्रममको लागि २ लाख ५५ हजार ५ सय मान्छे अटाउन सक्छन् । तर, वर्षमा २५ हजार हाराहारी मान्छेहरू आउने यसका सञ्चालक राजकुमार कार्की बताउँछन् । यस हिसाबमा दुर्गा पार्टी प्यालेस पनि एक दिने कार्यक्रमको लागि कुल क्षमताको १० प्रतिशत हाराहारी मात्रै उपयोग भएको देखिन्छ । यस हिसाबमा इटहरीमा वार्षिक एक दिने कार्यक्रममको कुल क्षमताको तुलनामा कम कार्यक्रम हुने गर्छ ।
कार्यक्रममा सहभागीहरू १० देखि १५ प्रतिशत इटहरी बाहिरका हुने भुसाल र कार्की बताउँछन् । यसकै आधारमा हिसाब गर्दा वार्षिक २७ हजार अनुमानित सेमिनार पर्यटक इटहरी आउने देखिन्छ ।

थपिँदै होटल र पार्टी प्यालेस
इटहरीमा सेमिनार पर्यटनको व्यापारिक भविष्य देखेर होटल तथा पार्टी प्यालेसहरू थपिने क्रममा छन् । होटल व्यवसायी संघ इटहरी अध्यक्ष पराजुली आफ्नो तिरूपति होटलले पर्यटकहरूको माग धान्न समस्या भएपछि नयाँ एक तारे होटल निर्माण गर्दैछन् ।
६ करोड लगानीमा ‘टुरिष्ट इन प्यालेस’ नामक होटल यो वर्षभित्रै सञ्चालनमा आउने पराजुली बताउँछन् । त्यस्तै, इटहरीको हलगडामा प्रस्तावित पाँच तारे गरिमा होटल पनि निर्माणको अन्तिम चरणमा छ । इटहरीका व्यवसायीहरू भीम पौडेल तथा बलराम आचार्यको समूहले ८० करोड लगानीमा सो होटल सञ्चालनमा ल्याउन लागेको हो ।
पार्टी प्यालेसहरू पनि इटहरीमा थपिन थालेका छन् । हाल सञ्चालनमा रहेको इटहरी–५ को लायन्स क्लबले अब थप १ हजर २ सय जना अट्ने पार्टी प्यालेस निर्माण गर्दैछ । निर्माणको नेतृत्व गरिरहेका व्यवसायी राजकुमार कार्कीका अनुसार पार्टी प्यालेसको हालको सिट क्षमता कम भएकाले थप गनुपर्ने भएको छ ।
कार्कीका अनुसार काठमाडौको एक समूहले इटहरीमा नयाँ पार्टी प्यालेसमा लगानी गर्दैछ । यसरी इटहरीमा व्यावसायिक प्रयोजनमा होटलहरू तथा पार्टी प्यालेसहरू सेमिनार पर्यटन लक्षित भएर बढ्दो क्रममा खुल्न थालेका छन् ।
इटहरीमा जति धेरै मेगा प्रोजेक्ट हुन्छन् त्यति नै धेरै सेमिनार पर्यटनमा फाइदा पुग्ने यहाँका पर्यटन व्यवसायीहरू बताउँछन् ।

सडक सञ्जालका कारण रोजाइमा इटहरी
प्रदेश १ का सबै क्षेत्रको केन्द्रमा पर्छ इटहरी । पूर्व–पश्चिम राजमार्ग र उत्तरदक्षिण राजमार्ग एकआपसमा ‘क्रस’ गरेर गएको शहर भएकाले इटहरी प्रदेशकै कार्यक्रमहरूको लागि सुगम भएको बताउँछन् प्रदेश १ को उद्योग वाणिज्य संघका उपाध्यक्ष लीलम बस्नेत । बस्नेत इटहरीको यही भूरणनीतिक अवस्थितिको कारणले नै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपाली सेना तथा सशस्त्र प्रहरीको प्रदेशस्तरीय कार्यालयहरू इटहरीमै भएको तर्क गर्छन् । भन्छन्, ‘इटहरीको भौगोलिक सुगमता र सडक सञ्जालको अवसरहरूका कारणले प्रदेशको एक्लो सबैभन्दा सुगम हब हो ।’
प्रदेश सांसदसमेत रहेका बस्नेतको भनाइसँग सहमत छन् इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीे । चौधरी इटहरी हिमाल, पहाड र तराई सबै क्षेत्रका बासिन्दाहरूको मिश्रित बस्ती हुनुमा सबै क्षेत्रको पायक अवस्थिति नै मुख्य कारक रहेको बताउँछन् ।
प्रदेश १ का सांसद तथा पूर्व मेयर सर्वध्वज साँवा इटहरी सबै क्षेत्रको सुगम भएकाले नै प्रदेशको राजधानी बन्न योग्य भएको बताउँछन् । भन्छन्, ‘धरानबाट एक पटक विराटनगर जानु भनेको दुई पटक इटहरी आउनु हो । इनरुवाबाट एक पटक झापा गएर आउनु भनेको इटहरी दुई पटक आउनु हो ।’

अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउँदै प्रदेश सरकार
इटहरीमा बढ्दो क्रममा रहेको सेमिनार पर्यटनलाई दृष्टिगत गर्दै प्रदेश १ सरकारले अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने भएको छ । जेठ २७ गतेको नीति तथा कार्यक्रम तथा असार १ गतेको बजेटमा यस बारेमा प्रष्ट गरिएको छ ।
प्रदेश १ सरकारले इटहरीमा अन्तरराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने कार्यक्रम प्राथामिकताका साथ राखेको छ । इटहरी उपमहानगरपालिकाले पनि मेगा प्रोजेक्टको रूपमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने प्रस्ताव संघीय र प्रदेश सरकारसामु राखेको थियो । तर, संघीय सरकारले यो विषय नसमेटे पनि प्रदेश १ सरकारले भने समेटेको छ ।
नीति तथा कार्यक्रमको ५७ औँ बुँदामा इटहरीमा अन्तराराष्ट्रिय सम्मेलन केन्द्र स्थापनाका बारेमा लेखिएको छ । जसमा भनिएको छ, ‘सुनसरीको इटहरीमा एक अत्याधुनिक अन्तरराष्ट्रिय सम्मेलन केन्द्र स्थापनाका गर्न विस्तृत अध्ययन कार्यको थालनी गरिनेछ ।’
बजेटको १ सय ३१ औँ बुँदामा पनि इटहरीमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र बनाउने कुरा उल्लेख गरिएको छ ।

सेमिनार पर्यटकलाइ अड्याउने योजनामा इटहरी सरकार
इटहरीमा आएका सेमिनार पर्यटकहरूलाइ अड्याउने केही पर्यटकीय योजनाहरू ल्याउने सोचमा इटहरीको स्थानीय सरकार पनि लागि परेको छ । मेयर द्वारिकलाल चौधरी आफ्नो चुनावी घोषणापत्रअनुसार इटहरीलाई बहुजातीय तथा सांस्कृतिक नगरीको रूपमा विकास गर्ने केही कामहरू नयाँँ आर्थिक वर्षमा शुरु गर्ने बताउँदै आएका छन ।
उपमेयर लक्ष्मी गौतम इटहरीको तालतलैयामा थप आकर्षक केन्द्रहरू निर्माण गर्ने र सिटी पार्क बनाउने योजनाहरू प्रस्तावको रूपमा आइरहेको बताउँछिन् । इटहरीमा आएका सेमिनार पर्यटकहरूलाई अड्याउन रात्री बजारको गृहकार्य शुरु गरिएको समेत उपमेयर गौतम बताउँछिन् । इटहरीको तालतलैयामा मोटरबोट ल्याएर जल यातायात गर्ने काम अगाडि बढिसकेको इटहरी–३ का वडाध्यक्ष बालकृष्ण बिष्ट बताउँछन् ।
इटहरीमा तालतलैयाबाहेक अर्को प्रदेशस्तरीय पर्यटकीय क्षेत्र नभएकाले नयाँ पर्यटकीय प्रोडक्टहरू थप्न उपमहानगरपालिकाले काम गर्नुपर्ने वडा नम्बर ४ का वडाध्यक्ष चन्द्र भट्टराई बताउँछन् । उनी भन्छन्, ‘हामीले टेंग्रा खोलामा ओपन वाटर पार्कसहितको जलविहार गर्ने लक्षमा काम गरिरहेका छौँ ।’ यो पटक टेंग्राका दुवै किनारमा वाकिङ लेन बनिसकेको बताउँदै भट्टराई अब चाँडै ब्रिज क्याफे र जल बिहारको डिपीआर बनाएर थप काम अगाडि बढाउने बताउँछन् ।
इटहरीमा यस पटक पर्यटन क्षेत्रमा पहिलेको तुलनामा बढी बजेट आउने उपमहानगर स्रोतले बताएको छ । स्थानीय सरकार नीति तथा कार्यक्रम अनि बजेट निर्माणको चरणमा भएकाले यसको अन्तिम रकम भने सार्वजनिक गरिएको छैन । विगतका २ आर्थिक वर्षमा पर्यटन क्षेत्रमा २९ लाख बजेट विनियोजन गरिएको थियो ।
तालतलैया नै इटहरीको पर्यटकीय केन्द्र हो, जसमा आर्थिक वर्ष २०७३÷७४ मा १० लाख रकम विनियोजन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा १९ लाख हाराहारी बजेट विनियोजन गरिएको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर लिम्बू बताउँछन् ।

समस्याः पर्याप्त लज र अत्याधुनिक सेमिनार हलको
इटहरीमा दैनिक ५ हजार बढीले सभा सम्मेलन तथा सेमिनारमा सहभागी हुन सक्ने पूर्वाधारहरू छन् । जनशक्ति पनि छ । तर, सो संख्याका पर्यटकहरूलाई आवासीय रूपमै राख्न भने इटहरीमा अहिले पनि असम्भव छ । इटहरीमा पर्यटक क्लासका २० होटलहरूले ३ सय हाराहारी मात्रै पर्यटकहरू अटाउन सक्छन् । बाँकी ३ सय हाराहारीका स–साना गेष्ट हाउस तथा होटलहरूले १ हजार हाराहारी मान्छे अटाउन सक्छन् ।
इटहरीमा जम्मा कत्ति मान्छेहरूलाई आवासीय सुविधा दिन सकिन्छ भन्ने प्रस्ट तथ्यांक संकलन गरिएको छैन । होटल व्यवसायी संघ इटहरीले पनि तथ्यांक संकलन गरेको छैन । चाँडै नै तथ्यांक संकलन गरिने संघका अध्यक्ष जीवन पराजुली बताउँछन् । २ सय हाराहारी मात्रै होटल सञ्चालकहरू जोडिएको र अधिकांश जोडिन बाँकी रहेको पराजुली बताउँछन् ।
इटहरीका होटलले अटाउने पर्यटकको आँकडा नभए पनि इटहरीमा ५ सय बढी पर्यटकहरू स्तरीय होटलमा बस्न नपाउने पराजुली स्वीकार्छन् । उनी भन्छन्, ‘हाम्रोमा अब थप स्तरीय पर्यटक तान्न थप स्तरिय पर्यटकीय होटल थप्नुपर्ने देखिएको छ ।’
विराट क्षेत्र पर्यटन प्रवद्र्धन समितिमा बसेर प्रादेशिक पर्यटनमा लागेका अभियन्ता रविन गौतम इटहरीमा सेमिनार पर्यटनको व्यापक विकासको लागि पूर्वाधार र प्रचार आवश्यक भएको बताउँछन् । गौतमका अनुसार स्तरीय होटलको संख्या र अन्तरराष्ट्रिय गुणस्तरका सेमिनार हल निर्माण गरेमा इटहरीको सेमिनार पर्यटनमा विकास हुन्छ ।
‘हाम्रा सेमिनार हलहरू र पार्टी प्यालेसहरू प्रदेश संरचना बन्नु अगाडि औसतका थिए तर अब अत्याधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने अवस्था आएको छ’, गौतम भन्छन्, ‘प्रदेश सरकार र यहाँका विभिन्न दातृ निकाय तथा अन्तरराष्ट्रिय सभा गर्ने स्तरको हल, जनशक्ति र खानपिन तथा आवासको प्रबन्ध अब हुनुपर्छ ।’ इटहरीको सेमिनार पर्यटनमा सरकारी तथा सामुदायिक भन्दा निजी क्षेत्रले लगानी गरेमा थप विकासका आधार बन्ने गौतमको तर्क छ ।