इटहरीः सुनसरीको इटहरीस्थित आइतबारेमा रहेको आरटिआरके होटल स्कुलले मौलिक खाना तथा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘म्याङ्गो फुड फेस्टिबल’ आयोजना गर्ने भएको छ ।

अनलाइन सेसनका रुपमा आगामी १३ देखि १७ जुलाईसम्म आयोजना हुने फेस्टिबलमा विश्वभरका इच्छुक व्यक्ति सहभागी हुन सक्ने स्कुलका सञ्चालक प्रेम तुम्बापोले जानकारी दिए । उनका अनुसार पाँच दिनसम्म सञ्चालन हुने फेस्टिबलमा हरेक दिन दुईदेखि तीन घण्टासम्म प्रयोगात्मक तथा सैद्धान्तिक प्रशिक्षणद्वारा सहभागीहरुलाई आँपबाट स्टार्टर, सलाद, मेन कोर्स र डेजर्टका रुपमा प्रयोग गर्न सकिने परिकार बनाउने कला सिकाइनेछ । कृषको उत्पादनलाई खेर जानबाट बचाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गर्न नेपालमा उत्पादन हुने सिजनल फल तथा अन्य खाद्य पदार्थहरुलाई केन्द्रमा राखी प्रत्येक वर्ष फुड फेस्टिबललाई निरन्तरता दिइने सञ्चालक तुम्बापो बताउँछन् । सेसनका क्रममा मास्टर सेफ साइकुमार शर्माद्वारा पाक कलासम्बन्धी कक्षा दिइने हुँदा गृहिणीदेखि पाक कलाका विद्यार्थी तथा व्यावसायिक रुपमा पाक कलामा आबद्ध व्यक्तिहरुलाई प्रत्यक्ष लाभ मिल्ने आयोजक सँस्थाको विश्वास छ । मास्टर सेफ शर्मा व्यावसायिक सेफ भएकाले उनीसँग रहेका पाक कलाका अनुभव र सीपलाई अनुकरण गरी पाक कलामा आफूलाई स्थापित गर्न यो सेसनले मद्दत पुर्याउनेछ ।

साथै सेसनमा सहभागीहरुलाई विभिन्न विश्वप्रसिद्ध सँस्थाहरुबाट प्रमाणपत्र उपलब्ध गराइनेछ जसबाट सहभागीहरुको कार्यकुशलताका साथै उनीहरुले प्राप्त गर्ने अवसरमा पनि अभिवृद्धि हुनेछ । सहभागीहरुलाई आरटिआरके होटल स्कुलका साथै ग्यास्ट्रोनोमी एसोसिएसन अफ नेपाल, ग्लोबल नेप्लिज सेफ फेडेरेसन र वल्र्ड सेफ चोइस फेडेरेसनले प्रमाणपत्र प्रदान गर्नेछ । इच्छुक व्यक्तिले १२ जुलाईसम्म फेस्टिबलमा सहभागिताका लागि आवेदन दिन सक्नेछन् । आवेदकले दुई हजार नौ सय ९९ रुपैयाँको दस्तुर बुझाई आवेदन फारम खरिद गर्न सक्नेछन् । तालिम सम्पन्न भएपछि सम्पूर्ण सहभागीहरुलाई आरटिआरके होटल स्कुलद्वारा सञ्चालित चुलो रेस्टुरेन्टमा क्यान्डल लाइट डिनरका आमन्त्रण गरिने स्कुलले जनाएको छ । कृषि र पर्यटनलाई एकीकृत रुपमा प्रवद्र्धन गरी समृद्धि प्राप्त गर्ने दीर्घकालीन लक्ष्य प्राप्तिको प्रयासस्वरुप यो फेस्टिबल आयोजना गरिएको स्कुलको भनाइ छ ।

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fforms.gle%2FNxJedu8vNv91HZ5F8%3Ffbclid%3DIwAR1IUXbtlu2S34yr2EKMcDpI7ExnmQ1MKED7nO0cfhuuROYKNsvD2mXSkZI&h=AT0zPetle0jkl22331GF6Q9Do02YsUcXDuJYKcE2zyYey1FSKpLDnA8IcLj31Q9-9xxqs3nR-ibS0tuBu5vjEhEUdfkWt9HBvGJbAsAFgrfINcxjNFdpq0j68swfWmxVczYVuw