इटहरीः आज तिहारको अन्तिम दिन भाइटीकाको दिन । तिहारमा टोपीको पनि धेरै व्यापार हुने गर्छ । अरु समयमा टोपी नलगाउने मानिसले पनि दशैं तथा तिहारमा अनि विशेष पर्व र उत्सवमा टोपी लगाउने गर्छन् । तर पछिल्लो समय टोपीको व्यवसायमा गिरावट आएको व्यवसायी बताउँछन् ।

इटहरीको सङ्गीत चोकमा रहेको आदित्य कलेक्सनका प्रकाशकुमारका अनुसार मेसिनबाट बनेका बुट्टा निस्किएका कारण पहिलेको तुलनामा अहिले टोपी सस्तो भएको छ । १ सय ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्ममा राम्राराम्रा टोपी पाइने उनी बताउँछन् । उनका अनुसार पहिले त्यस्तो टोपीलाई २ सय ५० रुपैयाँदेखि ५ हजार रुपैयाँ सम्म पर्दथ्यो ।

पर्यटकले पनि किन्छन् टोपी
नेपाली नागरिकले मात्रै होइन पछिल्लो समय अन्य देशका नागरिकले पनि नेपाली पहिचान भन्दै टोपी खरिद गर्ने गरेका छन् । इटहरीमा धेरै आउने भनेका भारतीय पर्यटक हुन् । भारतीय पर्यटकमध्ये कालिम्पोङ, दार्जिलिङ, खरसाङतिरका भारतीयले नेपाली टोपी धेरै किन्ने गरेको उनको अनुभव छ ।

न धेरै उत्साह न धेरै निराशा
व्यवसायी राजकुमार खड्काका अनुसार टोपीको व्यवसायमा धेरै उत्साह पनि छैन अनि धेरै निराशा पनि छैन । ‘पहिचानको लागि भन्दा पनि काम चलाउको लागि टोपी किन्ने ग्राहक आउँछन्,’ खड्काले भने, ‘त्यस्ता ग्राहकले सस्तो दामको टोपी रुचाउँछन् ।’ जसका कारण व्यवसाय धान्न खासै अप्ठ्यारो भने नपरेको उनको अनुभव छ ।

ढाका टोपी बेच्दा आनन्द आउँछ
अर्का व्यवसायी हरि खतिवडा आफूले ढाका टोपी बेच्न पाउँदा आनन्द लाग्ने गरेको बताउँछन् । ‘नेपालको पहिचान, नेपालको शान ढाका टोपी बेच्न पाउँदा साहै्र आनन्द आउँछ’, ग्राहकलाई ढाका टोपी बेचिरहेका खतिवडाले भने, ‘गौरवमय पहिचानयुक्त वस्तु बेच्न पाउँदा खुशी लागे पनि ग्राहकले टोपीलाई खासै महत्व नदिई लगाएको देख्दा भने दुःख लाग्ने गर्छ ।’ काठमाडौंबाट टोपी आयात गर्ने गरेका उनले आफ्नो पसलमा ८० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्मको टोपी रहेको बताए । पहिले टोपीको व्यापार राम्रो भए पनि बीचमा एक पटक खस्किएको उनले बताए । बिस्तारै टोपीको व्यापारमा सुधार आउँदै गरेको बताएका उनले टोपीलाई महत्वका साथ लगाउनुपर्ने बताए ।

व्यापार बढ्दैछ
व्यवसायी महनमही गिरी पछिल्लो समय टोपीको व्यापार बढ्दै गएको बताउँछन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी व्यापार भएको उनले बताए । तेह्रथुमबाट ढाकाको टोपी आयात गर्ने गरेका उनी टोपीको व्यापारमा बिस्तारै सुधार आउने क्रम रहेको बताए । आफ्नो पसलमा १ सय ९० रुपैयाँदेखि ३ हजार ४ सय रुपैयाँसम्मका टोपी रहेको उनले बताए ।

‘म तेह्रथुमबाट टोपी आयात गर्छु,’ उनले भने, ‘तेह्रथुमको टोपी टिपिकल हुन्छ तर, पछिल्लो समय मेसिनले बुनेका टोपीमा ग्राहक आकर्षित हुने गरेका छन् ।’ उनका अनुसार एकै खालको बुट्टा हुँदा पनि मेसिनले बुनेका टोपीमा राम्रो बुट्टा देखिन्छ । हातले बुनेको टोपीको तुलनामा त्यस्ता टोपी सस्तो पर्ने हुँदा हातले बुनेका टोपीको व्यापार कम भएको उनी बताउँछन् ।

topi byapar (7) topi byapar (2) topi byapar (8) topi byapar (1)