इटहरीः आज तिहारको अन्तिम दिन अर्थात् भाइटीकाको दिन हो । यो पर्व दाजुभाइ र दिदीबहिनीले विशेष महत्वका साथ मनाउँछन् । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाइन्छ ।
यस पर्वमा दिदीबहिनीले दाजुभाइको पूजा गरी मेवा, मिष्ठान्नका साथमा उपहार दिने गर्दछन् । दाजुभाइले गच्छेअनुसारको दक्षिणा दिने चलन पाइन्छ । वैदिक कालमा यमलोकका अधिपति यमराजलाई उनकी बहिनी यमुनाले विशेष मानसम्मान गर्दै पूजा गरेको धार्मिक कथन छ ।
यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने शास्त्रीय मान्यता पाइन्छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष भाइटीकाको लागि उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ । आज दिनभर जुनसुकै समयमा पनि टीका लगाउन मिल्ने भए पनि साइत कुरेरै लगाउनेका लागि साइत निकालिएको समितिले जनाएको छ ।