इटहरी / विश्वकै सबैभन्दा अग्ला चुचुराहरू समेट्ने हिमालय क्षेत्र र मनोरम प्राकृतिक तथा सांस्कृतिक धरोहरहरू भएको प्रदेश १ ट्रेकिङ गर्नेहरूको लागि स्वर्गीय क्षेत्र मानिन्छ ।
विश्वको सबैभन्दा लामो ट्रेकिङ ट्रेल ग्रेट हिमालयन ट्रेकिङ एक अभिन्न अंगमा पर्छ प्रदेश १ । प्रदेशभित्रैका आन्तरिक ट्रेकिङ रुट पनि प्रदेश १ मा विश्वस्तरीय छन् । यी हुन् प्रदेश १ का मुख्य विश्वस्तरीय ट्रेकिङरुटहरूः
१. सगरमाथा बेस क्याम्प ट्रेकिङ
विश्व सम्पदा सूचीमा परेको प्रदेश १ को एक्लो सम्पदा हो, सगरमाथा राष्ट्रिय निकुन्ज । यो निकुन्जमा पर्ने ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा पर्वतारोहणको लागि मात्रै होइन पदयात्राको लागि पनि चर्चित छ । लुक्लाबाट कालापत्थरसम्म हुने यो विश्वकै लोकप्रिय ट्रेकिङ रुट हो ।
आउन जान गरेर १६ दिन लाग्ने यो रुटको उच्चतम उचाइ ५ हजार ५ सय ४५ मिटर सम्म छ । विश्वकै सबैभन्दा रोचक ट्रेकिङ रुट प्रदेश १ मा भए पनि आन्तरिक पर्यटकले भने नगण्य मात्रामा ट्रेक गर्ने सगरमाथा बेस क्याम्प ट्रेक गराउने माउन्टेन राम एडभेन्चर्स काठमाडौंका सञ्चालक रामशरण उप्रेती बताउँछन् ।
पैदल र हेलिकप्टर दुवैमा ट्रेक गरिने सगरमाथा बेस क्याम्प ट्रेकमा पैदल जाँदा ८० हजार रुपैयाँभन्दा बढी शुल्क लाग्छ । हेलिकप्टरमा एक्लै जाँदा ३ लाखभन्दा बढी र समूहमा जाँदा १ लाख हाराहारी खर्च हुने उप्रतीले बताए ।
२. कञ्चनजंघा बेस क्याम्प ट्रेकिङ
८ हजार ५ सय ८६ मिटरको विश्वको तेस्रो अग्लो कञ्चनजंघा बेस क्याम्प ट्रेकिङ प्रदेश १ को सगरमाथा पछिको दोस्रो लोकप्रिय ट्रेकिङ रुट हो । ताप्लेजुङको सुकेटार विमानस्थलबाट शुरु हुने यो ट्रेकिङ २५ दिन हाराहारीको हुने जानकारहरू बताउँछन् । यो रुटको ट्रेकिङ कञ्चनजंघा आधार शिविरको ५ हजार ४ सय मिटरको उचाइमा पुगेर सकिन्छ । कञ्चनजंघा ट्रेकिङ गराउँदै आएको माउन्टेन मोनार्क ट्रेकिङ एण्ड क्याम्बिङका संस्थापक प्रदीपकुमार लिम्बूका अनुसार कञ्चनजंघा ट्रेकिङको लागि प्रतिविदेशी २ लाख हाराहारी नेपाली रकम लाग्छ । नेपालीहरू भने कमै मात्रै ट्रेकिङमा जाने लिम्बू बताउँछन् ।
३. मकालु बेस क्याम्प ट्रेकिङ
८ हजार ४ सय ६३ मिटरको विश्वको पाँचौं अग्लो शिखरको रूपमा संखुवासभा जिल्लामा रहेको मकालु हिमालको बेस क्याम्प ट्रेकिङ प्रदेश एकको चलेको ट्रेकिङ रुट हो । २२ दिन हाराहारी लाग्ने यो रुट संखुवासभाको तुम्लिङटार विमानस्थलबाट शुरु हुन्छ । संखुवासभाको नुमसम्म गाडी पुगेकाले त्यहाँबाट जाँदा भने १४ दिनमात्रै लाग्ने मकालु एडभेन्चर्सका सञ्चालक मोहन लम्साल बताउँछन् । यो रुटको उच्चतम उचाइ ५ हजार मिटर रहेको छ ।
कमैमात्र नेपाली र जाने यो रुट प्रदेश १ मा तेस्रो लोकप्रिय रुट रहेको सञ्चालक बताउँछन् । मकालु बेस क्याम्प ट्रेकिङ लामो समयदेखि गराउँदै आएका लम्सालका अनुसार विदेशीलाई २ लाख हाराहारी लाग्ने यो रुटमा नेपालीहरू भने कमै यात्रा गर्छन् ।