इटहरीः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अमेरिका पुगेका छन् । घाँटीको समस्या भएर थाइल्याण्डमा उपचार गर्न पुगेका राई निजी भेटघाटमा उतैबाट अमेरिका पुगेको बताइएको छ ।

अमेरिकाबाट सञ्चालित नेपाली भाषाको अनलाइन पत्रिका इनेप्लीज डटकमले जनाएअनुसार उनी मङ्गलबार त्यहाँ पुगेका हुन् । बाल्टिमोरस्थित नेपाल हाउसमा महावाणिज्यदूत प्रेमराजा महतले अनौपचारिक स्वागत तथा भेटघाट कार्यक्रम राखेका थिए ।

त्यहाँ रहेको नेपाली मूलका नागरिकसँग कुरा गर्दै राईले मुलुक विकास र समृद्धिको कार्यसूचीमा केन्द्रित रहेको बताए । उनले सङ्घीयताका कारण नै विकास र समृद्धि सम्भव भएको भन्दै अब विकासका लागि कुनै पनि बहानामा नअलमलिने बताए ।

थाइल्याण्डबाट सुटुक्क अमेरिका पुगेको भन्दै सामाजिक सञ्जालमा राईको आलोचना पनि भएको छ । तर, कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीका निकट सहयोगी रवि खनालका अनुसार राईको स्वास्थ्य उपचार र अमेरिका भ्रमण क्याबिनेटबाटै पारित भएको हो ।

‘मन्त्रिमण्डलको बैठकमा स्पष्ट भनिएको छ’, खनालले प्रदेश पोर्टललाई भने, ‘मुख्यमन्त्रीको उपचार भ्रमणका लागि थाइल्याण्ड हुँदै अमेरिका जाने सम्बन्धमा भनी उल्लेख छ ।’

राईको थाइल्याण्डस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य जाँच भएको थियो । उनका प्रेस सल्लाहकार धु्रव सुवेदीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका थिए । मुख्यमन्त्री राईको स्वास्थ्य उपचारमा डाक्टरहरू लिट्ट कोमोन्हिरून, सिरिचाई निरमान्र्सकुल र सुथेप पटचरट्रकुल रहेका छन् ।’

निजी खर्चमा उपचार गर्न गएका राईको विस्तृत रिपोर्ट कात्तिक २६ गते आउने जनाइएको छ । उनी भोलि २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।