इटहरीः झण्डै २५ वर्ष पहिला संगठित भएर केहि वर्षपछि होटल व्यवसायी संघ इटहरीसँग विलय भएको होटल तथा लज व्यवसायी संघ इटहरी बिहीबारदेखि पुनः ब्युँतिएको छ ।

आठौँ अधिवेशनपश्चात होटल व्यवसायीसँग मिलेको संघ बिहीबारदेखि पुनः पहिलेकै अवस्थामा आइपुगेको हो । बिहीबार ९ औँ अधिवेशन तथा २५ औँ वार्षिक साधारणसभा गर्दै संघले १६ सदसीय समिति समेत गठन गरको छ । इटहरीका होटल व्यवसायी उमानाथ दाहाल ‘उमेश’को अध्यक्षतामा नयाँ समिति गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा राम कार्की, प्रथम उपाध्यक्षमा कैलाश विष्ट, दृतीय उपाध्यक्षमा प्रितिमाया सुनार, महासचिवमा दीपक पोखरेल कोषाध्यक्षमा राजन बस्नेत, सचिवमा विनोद कार्की र सह कोषध्यक्षमा रुपेश दाहाल चयन भएका छन् । यस्तै सदस्यहरुमा दुर्गा थापा, केशव गिरी, धनमाया श्रेष्ठ, किशोर ढकाल, छत्र तिम्सिना, मोहन श्रेष्ठ, पूर्ण लिम्बू र भेषराज बराल चयन भएका छन् ।

कोरोना महामारीले अन्य व्यवसायभन्दा होटल र पर्यटनलाई बढी प्रभाव परको बताउँदै नवनिर्वाचित अध्यक्ष दाहालले त्यसबाट परेको प्रभाव न्यूनीकरणमा आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धेरै संघ विभाजन हुनु राष्ट्रिय राजनीतिको उपव्यय रहेको उनको भनाइ छ । पुरानो संघको कार्यसमितिमा बस्न राजनैतिक भागबण्डाको आधारमा काखा र पाखा गरेकै कारण नयाँ संघ खोल्न बाध्य भएको नवनिर्वाचित महासचिव दीपक पोखरेलको भनाइ छ ।