इटहरीः इटहरीमा होटल व्यवसायीहरुको हितमा काम गर्ने भ्रातृ संस्था होटल व्यवसायी संघ विभाजित भएको छ ।

होटल व्यवसायी संघ इटहरीका निर्वतमान महासचिव उमानाथ दाहालको नेतृत्वमा बिहीबार पुनः होटल तथा लज व्यवसायी समिति ब्युँतिएपछि इटहरीका होटल व्यवसायी पनि दुई भागमा विभाजित भएका छन् । २०५२ सालमा नै स्थापना भएको होटल तथा लज व्यवसायी समिति आठौँ अधिवेशनबाट होटल व्यवसायी संघमा मिसिएको थियो । बिहीबारबाट पुनः पहिलेकै आवस्थामा फर्किएको छ । उद्योग वाणिज्य संघको छाता संगठनको रुपमा रहेको होटल व्यवासयी संघले भने इटहरीका होटल व्यवसायीको हकहितमा काम गर्ने सबै आफ्नै पक्षमा रहेको बताएको छ । ‘हाम्रो समग्र हितमा लाग्ने व्यासायिक संगठन होटल व्यवसायी संघ हो भन्ने साथीहरु हामीसँगै हुनुहुन्छ’, होटल व्यवसायी संघ सुनसरीका अध्यक्ष तथा इटहरीका उपाध्यक्ष तेजबहादुर पुरीले भने, ‘हामीचाहिँ उता जाने व्यवसायीलाई पनि समस्या पर्यो भने जहिले पनि सहयोग गर्न तयार छौँ ।’

साथै उनले बिहीबार गठन भएको नयाँ समिति राजनैतिक आस्थाका कारण विभाजित भएको बताएका छन् । विगतका समितिका अध्यक्ष लगायतका अन्य पदाधिकारी र निर्वतमान समितिका सदस्यले बारम्बार छलफलका लागि टुक्रिएर गएका व्यवसायीसँग भन्दा बेवास्ता गरेको होटल व्यवसायी संघ इटहरीका निवर्तमान अध्यक्ष जीवन पराजुलीले बताए । आफूले व्यक्तिग रुपमा नै समितिका नवनिर्वाचित अध्यक्ष दाहाललाई फोन गर्दा बारम्बार छलफलको समय परिर्वतन गरेको तर छलफलमा नै आउन अटेर गरेको उनले जानकारी दिए । ‘व्यसायीलाई मनमुटाव सिर्जना गर्ने हिसाबले, व्यवसायीलाई अन्योल पर्ने हिसाबले उहाँहरुले नयाँ समिति बनाउनुभएको छ’, निवर्तमान अध्यक्ष पराजुलीले भने, ‘सांसदबाट टिका लगाएर पद ग्रहण गर्नुभएछ । तिनै सांसदसँग व्यवसायीको लागि भ्याक्सिनको पहल गरेर देखाउनुस् ।’ व्यवसायीलाई समस्या परेको समयमा फोन नै अफ गरेर भाग्ने व्यक्तिले अभिभावकत्व ग्रहण गरेको संस्थाले व्यवसायीको हितमा काम गर्छ भनेर आफू आशावादी नरहेको उनले बताए ।