इटहरीः किरात गुरु फल्गुनन्दको जन्मजयन्तीको अवसरमा पूर्वका ३ वटा स्थानीय तहले आज आइतबार सार्वजनिक बिदा घोषणा गरेका छन् ।
झापाको दमक नगरपालिका, इलामको चुलाचुली गाउँपालिका र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरका हुन् ।
दमक नगरपालिकाले नगरपालिकाको नगरसभाबाटै फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख रोमनाथ ओलीले जनाए । राष्ट्रिय विभूति फाल्गुनन्दको सम्मानका लागि नगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।
यसअघि फाल्गुनन्दको जन्मदिनमा किरात धर्मालम्बीहरुले बिदा दिन माग गर्दै आएका थिए ।
वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ–५ चुक्चिनाम्बामा बाबु जगनबाज लिम्बू र आमा हंसमती लिम्बूको कोखबाट साहिँला छोराका रूपमा फाल्गुनन्दको जन्म भएको थियो । उनको २००५ चैत २२ गते निधन भएको थियो । नेपाल सरकारले उनलाई २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।