बेलबारीः मोरङका ३ वटा स्थानीय तह जोड्ने महत्वपूर्ण पुलको निर्माण कार्य कछुवाको गतिमा हुँदा स्थानीयको समस्या जस्ताको तस्तै छ ।
आर्थिक वर्ष ०७१÷०७२ मा पुल निर्माणको लागि केन्द्रीय योजनामार्फत् बजेट आएर काम थाले पनि जगको कामबाहेक अन्य काम हुन सकेको छैन । पुल निर्माणको लागि निलगिरी कन्स्ट्रक्सनले ३ वर्षभित्रमा सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, काम सम्पन्न गर्ने सम्झौता सकिँदासम्म पनि पुलको कामले गति लिन सकेको छैन ।
पुल निर्माण कार्य अलपत्र भएपछि स्थानीय बासिन्दाहरूलाई वर्षात्को समयमा आवतजावत गर्न कठिनाइ पर्ने गरको छ । केराबारी–९ को भलुवा, घँघरु, लगायतका बासिन्दाहरूलाई बेलबारी आवतजावतका लागि वर्षताको समयमा सास्ती खेप्नु परिरहेको छ ।
पुल निर्माण कम्पनीले ३ वटा आधा पिल्लर खडा गरेपछि ठेकेदार नै बेपत्ता भएकाले निर्माण कार्य अधुरो रहेको स्थानीयवासीको भनाइ छ । योजना अलपत्र भएपछि स्थानीय बासिन्दाहरू ठेकेदारप्रति रुष्ट भएका छन् । ३ करोड ६० लाखको योजनाको काम कछुवाको गतिमा रहेको छ ।
निर्माण कार्यलाई गति दिनका लागि स्थानीय स्तरमा सुरेन्द्र गुरुङको संयोजकत्वमा अनुगमन समिति निर्माण भएको थियो । अनुगमन समितिले ठेकेदार र कम्पनीलाई पटकपटक ताकेता गरे पनि ठेकेदारले काम नगरेको स्थानीय अनुगमन समितिको भनाइ रहेको छ । केही महिना ठेकेदारले कामदारहरूलाई पठाएर काम गरेता पनि अहिले काम नभएको अनुगमन समितिका अध्यक्ष गुरुङले बताए ।
खोलामा निर्माणका लागि ल्याएका निर्माण सामग्रीहरू यत्रतत्र छाडेर कामदार पनि सम्पर्कविहीन छन् । रडहरू पनि चोरी भएको र निर्माण स्थलमा ल्याएका बालुवा र अरु सामग्री खोलाले बगाएको गुरुङको भनाइ छ । तुर्केखोलामा बाढी आउनासाथ दैनिक रूपमा चल्ने यातायातका साधन अवरुद्ध हुँदा स्थानीय बासिन्दाहरू सास्ती झेल्दै आएका छन् । दैनिक ५ वटा निजी र एउटा सरकारी विद्यालयका विद्यार्थी बोक्ने सवारी साधन चल्ने गरे पनि खोलामा पानीको बहाब बढेपछि विद्यार्थी विद्यालयसम्म आउन सक्दैनन् । बाढी आउनासाथ विद्यार्थीलाई विद्यालयसम्म ल्याउन नसकिने गरेको बेलबारी–२ मा रहेको शिक्षा सन्देश इङ्लिस स्कुलका काउन्सिलर भुपाल बस्नेतले बताए ।
सबैभन्दा ठूलो समस्या त बिरामी परेको अवस्थामा खोलामा बाढी आएको खण्डमा त्यस क्षेत्रका बासिन्दाहरू ठूलो घेरामा पर्ने गरेका छन् । बाढीमा एम्बुलेन्स जान नसक्ने भएका कारण स्थानीय बासिन्दाहरू उपचारको समस्या झेल्दै आएका छन् । पुलको काम ढिलो भएको भन्दै केराबारी–९ का वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लसहितको टोलीले केही दिन अगाडि सडक डिभिजन कार्यालयमा पुल निर्माणको ढिलाइबारे जानकारी समेत गराएको छ ।
यता निलगिरी कम्पनीका प्रबन्ध निर्देशक युवराज डाँगी भने सरकारले पुलको रिडिजाइन गरेर पठाएकाले ढिलो भएको बताउँछन् । उनले वर्षाको समय सकिनासाथ असोजदेखि काम थाल्ने बताएका थिए । तर कात्तिक बित्न लाग्दा समेत भने भएको छैन ।
यता, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले काम नगर्ने ठेकेदारको नाम जिल्ला प्रशासन कार्यालयमा पठाएको भन्दै खुल्ला कार्यक्रममा नै भाषण गरेका छन् ।
काम नगर्ने ४५ ठेकेदारको नाम गृह मन्त्रालयमा सिफारिश
गृहमन्त्री रामबहादुर थापाले योजनाहरू अलपत्र छाडेर भाग्ने ठेकेदारलाई थुन्ने घोषणा गरेपछि ठेकेदारहरूले केही ठाडो कान लगाए पनि अहिले भने उनीहरूले कुनै चासो देखाएका छैनन् । वर्षातको समयमा केराबारी–९ का भलुवा र घँघरुवासीले निकै पीडा भोेग्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले काम नगर्ने ४५ जना ठेकेदारको नाम गृह मन्त्रालयमा सिफारिश गरेको छ । जसमा एक दर्जनजति ठेकेदारले काम अलपत्र बनाएर फरार रहेका छन् । अन्य ठेकेदारहरूको समय अवधि नसकिए पनि काम भने सन्तोषजनक पाइएकाले गृह मन्त्रालयमा सिफारिश गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।