प्रकाशपुरः कुनै बेला गोरु पालेर खेती गर्ने भवानी बराल हिजोआज ट्याक्टरबाटै खेतबारी जोत्छन् ।  वराहक्षेत्र–९ का बराललाई आजकाल गोरु पाल्ने र जोत्ने झन्झट हटेको छ । बराल मात्र होइन आजकाल कोशी गाउँपालिकाका रबिन मेहेताले पनि गोरु पाल्न छोडेको निकै भयो । कुनै समय हलो जोतेर पनि मनग्ये आम्दानी गर्ने गरेका मेहेतालाई आजकाल कसैले पनि हलो जोत्न बोलाउँदैनन् ।

‘हलो जोतेरै दिनको १५ सयसम्म कमाउने गरेको थिएँ तर अहिले ट्याक्टरले नै जोत्ने, पटा लगाउने सबै काम गर्ने भएकाले मलाई बोलाउँदैनन्,’ मेहेताले भने, ‘दिनभरि काम गर्दा ५ कठ्ठासम्म जोतिन्थ्यो । तर ट्याक्टरले समय र पैसा दुइटै जोगाइदिने हुनाले गोरुले जोताउन नै छोडिसके ।’

‘न गोरु पाल्न सकिन्छ न त जोत्न नै सकिन्छ’ बरालले भने, ’बुढेसकाल पनि लाग्दै गयो छोराछोरी आआफ्नो कमाइ गर्छन्,खेतीपाती नि छोड्न सकिँदैन धन्न सबै काम मेसिनले नै गर्न थाल्यो र अलि सजिलो भएको छ । बराल र मेहताजस्ता अन्य किसानहरूको घरमा न हलो देखिन्छ न जुवा न गोरु नै । सबै किसानहरू अहिले ट्याक्टरकै भर पर्न थालेका छन् ।

जोत्न मात्र होइन मङ्सिर लाग्दै गर्दा खेतालाले धान काट्दै गरेका देखिने बारीहरूमा आजकाल ट्याक्टरले नै ठाउँ ओगट्न थालेको छ । ८० हजार मूल्य पर्ने मेसिन जोडेर आजकाल धान पनि सानो हाते ट्याक्टरले नै काट्ने गरेको छ ।
गाउँका अधिकांश युवाहरू विदेशतिर लागेपछि श्रमशक्ति कम भएको बेला भित्रिएको धान काट्ने प्रविधि किसानहरूको लागि वरदान नै साबित भएको स्थानीय बताउँछन् । ‘काम गर्नेहरू प्राय विदेशतिर, खेताला खोज्न पनि हैरान थियो’, प्रकाशपुरका अर्का किसान राजन घिमिरेले भने, ‘मूल्य र समयको हिसाबले पनि छिटो भएकाले यो प्रविधिले पनि किसानहरूलाई थप राहत दिएको छ ।’

krishi aadhunik aujar pradesh portal 2

धान काट्ने मेसिन भर्खर आएकाले आजकाल यो प्रविधि हेर्न मान्छेको भीड हुने भए पनि धान दाइँ गर्दा थ्रेसरको उपयोग यहाँ नौलो हुन भने छाडेको छ । पहिले पहिले ट्याक्टरले जोत्दा, दाइँ गर्दा रमिता हेर्नेको भीड हुन्थ्यो हिजोआज यो सामान्य भइसकेको छ । ‘खेती गर्ने जमाना बदलियो, अब खेतमा के ल्याएछ भनेर हेर्न भीड हुन्न,’ घिमिरेले हाँस्दै भने, ‘बरु पुरानो पाराले कसरी खेती गर्थे भएर सोध्ने बेला आइसक्यो ।’

धान काट्ने मेसिनले एक कट्ठा खेतको धान २० मिनेटदेखि ३० मिनेटसम्ममा काट्छ । ‘खेतालाहरूलाई ३ सय रुपैयाँ दिएर बल्लबल्ल फकाएर मात्र कटाउनु पथ्र्यो तर अहिले कम समय र कम पैसामै किसानले धान कटाउने गरेका छन् ।’
खेताला कम भएकाले यो मेसिनको धेरै माग छ । गाउँभर एउटा मात्र मेसिन भएकाले पनि अहिले पनि धेरैले धान काट्न पाएका छैनन् । ‘मेसिन ल्याउँछ भनेर ठिक्क परेर बसेँ तर बाटोबाटै अर्कै गाउँतिर लगेछन्,’ स्थानीय कृषक कृष्ण अधिकारीले भने, ‘अब अर्को मेसिन पनि आउँदै छ त्यसैबाट काम गराउँछौ ।’

थोरै समयमा धेरै खेती तथा कम लागतमा बढीभन्दा बढी उत्पादन हुने देखिएपछि बिस्तारै धान काट्ने मेसिन भित्रिन थालेका छन् । धान काट्ने मेसिनबाट किसानले भरपुर रूपमा फाइदा लिएको धान काट्ने मेसिन चलाउँदै आएका व्यवसायी राजेन्द्र मिश्र बताउँछन् । मेसिन प्रयोगका कारण किसानको समय र खर्चको बचत भएकाले किसानहरूले पछिल्लो समय धान काट्ने मेसिनको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।