इटहरी / र्याफ्टिङ भन्नासाथ ह्वाइट वाटर (सेतो जलमा) गरिने जलविहार भन्ने बुझिन्छ । र्याफ्टिङ भन्नासाथ बर्खामा बन्द हुने साहसिक पर्यटकीय खेल भन्ने बुझिन्छ । र, र्याफ्टिङ भन्नासाथ बिहानै शुरु गरेर साँझ नपर्दै सकिने जलविहार भन्ने बुझिन्छ ।
तर, बुधबार प्रदेश १ का सांसद तथा मन्त्रीहरूले सप्तकोशीको धमिलो भेलमा र्याफ्टिङ गरे । त्यो पनि साँझ पर्नै लाग्दा । ४ बजेर ४५ मिनेटपछि सप्तकोशीको भेलमा सहभागी थिए प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे । घिमिरेसँगै सहभागी थिए प्रदेश १ का ३० सांसद । सुनसरी र उदयपुर जोड्ने चतराको सप्तकोशी पुलको थोरै उत्तरबाट गरिएको सन्ध्याकालीन र्याफ्टिङ ५ किलोमिटर गरिएको थियो । सप्तकोशी पुल मुनिबाट बराहक्षेत्रको चक्रघट्टी क्षेत्रमा पुगेर र्याफ्टिङले विश्राम लिएको केही समयमै अँध्यारो छाइसकेको थियो । तर, प्रदेशका मन्त्री र सांसदहरूको अनुहारमा भने र्याफ्टिङ अनुभवले उज्यालो छाएको थियो ।
जीवनमा पहिलोपटक सप्तकोशीको भेलमा र्याफ्टिङ गरेका सामाजिक विकास मन्त्री घिमिरे दंग देखिए । आफ्नो पहिलो र्याफ्टिङ अनुभव सुनाउँदै घिमिरेले भने, ‘सप्तकोशीको भेलसँगै र्याफ्टिङ गर्नुको आनन्द बेग्लै किसिमको भयो । बाढीमा पनि यस्तो सहज र्याफ्टिङ सम्भव रै’छ सप्तकोशीमा ।’ प्रदेश १ का सोलुसुम्बुका सांसद उत्तम बस्नेतदेखि इलामका सांसद धिरज शर्मा अनि सुनसरीकी सांसद सावित्रा श्रेष्ठ, सबैले र्याफ्टिङ अनुभव रमाइलो र सुरक्षित भएको बताए । ‘मेरो त सपना नै साकार भएको छ’, सांसद सर्वध्वज साँवाले भने, ‘सप्तकोशीमा र्याफ्टिङ गर्ने धेरै पुरानो सपना थियो ।’ सांसद सावित्री श्रेष्ठले आफ्नो र्याफ्टिङ अनुभव पहिलो भए पनि धेरै राम्रो भएको बताइन् । उनले भनिन्, ‘यस अगाडि यसरी सप्तकोशीमा मात्रै होइन कतै पनि यस्तो र्याफ्टिङ अनुभव थिएन । पहिलो पटक गरेर धेरै सिक्ने र बुझ्ने अवसर पाएँ ।’ प्रदेश मन्त्री जीवन घिमिरेले सप्तकोशीको र्याफ्टिङ बर्खामा पनि चलेर प्रदेश १ मा बाह्रै महिना र्याफ्टिङको अवसर हुनु राम्रो भएको बताए ।
पूर्वको पर्यटकीय चहलपहलमा यस्तो प्याकेजले फाइदा पुग्ने घिमिरेले बताए । उनले भने, ‘साहसिक पर्यटन क्षेत्रमा यस्तो नयाँ र सुरक्षित कुराहरूमा प्रदेश सरकार गम्भीर छ ।’