धरानः धरान–१३ स्थित कृषि उपज बजारमा यस पटकको तिहारमा सवा ३ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । ५ सय ३० मेट्रिक टन फूलको कारोबार भएको बताइएको छ ।
गत वर्षको तुलनामा १ करोड बढीको कारोबार भएको हो । गत वर्ष २ करोड २५ लाख रुपैयाँको कारोबार भएको कृषि उपज बजारको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष २ सय २५ मेट्रिक टन फूलको कारोबार भएको थियो । परिमाणको आधारमा गत वर्षको तुलनामा ८ देखि १० करोडको रुपैयाँको फूलको कारोबार हुनुपर्ने देखिन्छ । तर, यसपटक फूलको उत्पादन धेरै भए पनि मूल्य नपाउँदा ३ करोड २५ लाखको मात्र कारोबार भएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
२० मेट्रिक टन फूल बिकेन
कृषि बजारमा यसपटक ५ सय ५० मेट्रिक टन फूल भित्रिएको थियो । जसमा २० मेट्रिक टन अर्थात् करिब १० लाख रुपैयाँको फूल बिक्री नभएपछि फ्याँकिएको बजार व्यवस्थापक भट्टराईले बताए । यसपटक तिहार ढिलो आएकाले धेरै फूल फुल्दा कृषि बजारमा फूलको कारोबार बढेको बताइएको छ । यस पटक फूलको उत्पादन धेरै भए पनि किसान तथा व्यापारीले फूलको मूल्य नपाउँदा मारमा परेको उनले बताए । ‘किसानले फूल सही दामले बेच्न पाएनन्, व्यापारीले किनेको फूल पनि बेच्न सकेनन्,’ बजार व्यवस्थापक भट्टराईले भने ‘अब आगामी दिनमा यसलाई कसरी मेनेज गर्ने भन्नेमा हामीलाई गम्भीर बनाएको छ ।’
यस पटक फूलको व्यापारमा घाटा खेप्नु परेको बजार स्थलका खुद्रा व्यापारी लक्ष्मण रायले बताए । ‘५ हजार रुपैयाँको फूल खरिद गरेर बिक्री गर्नको लागि दिनभर बसियो,’ उनले भने, ‘तर बोहोनीसमेत भएन ।’
स्वदेशी उत्पादनका फूल धेरै भएकाले यसपटक भारतीय फूलको कारोबार शून्यमा झरेको कृषि उपज बजारले जनाएको छ । गत वर्ष ५० प्रतिशत बजार भारतीय फूलले ओगटेको थियो ।
कृषि बजारमा धनकुटा, तेह्रथुम, पाँचथर र मोरङको उत्तरी भेग, उदयपुरलगायतका जिल्लाबाट फूल आउने गरेको कृषि बजारले जनाएको छ । धनकुटाबाट मात्र ८० प्रतिशत फूल धरानमा भित्रिन्छ ।
गत वर्ष सयपत्री फूल प्रतिमुठा ५० रुपैयाँभन्दा बढीमा बिक्री भएको थियो । तर, यसपटक प्रतिमुठा ५ रुपैयाँमा झरेको व्यापारीले बताए ।