दुहबी: जबर्जस्ती करणीको घटना एक सातासम्म गुपचुप रहेको घटनाको खुलासा भएको छ ।

मोरङको विराटनगरस्थित घिनाघाट घर भएकी १५ वर्षीया किशोरीलाई दुहबी– १ घर भएका अन्दाजी वर्ष २० का जुवेर मियाँले जबर्जस्ती करणी गरेको आरोप लागेको छ । उनले जबर्जस्ती गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको एक सातापछि घटनाको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार इनरुवामा रहेको मिनी हाइवे होटलमा लगी डरत्रास देखाइ जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

कात्तिक १७ गते शनिबार दिउँसो आरोपी मियाँले किशोरीलाई घर पुर्याइदिन्छु भनेर सुनसरी मोरङको सिमानास्थित दुहबीको बुढीखोला पारीबाट ललाइफकाइ गरी आप्mनो मोटरसाइकलमा चढाएर लगेको बताइएको छ । पीडित बालिकाले मेरो घर त मोरङ हो तपाईंले मलाई सुनसरीतर्फ किन लाँदै हुनुहुन्छ भनेर प्रतिकार गर्दा मियाँले मेरो मोटरसाइकलको लाइसेन्स छैन त्यसैले भित्री बाटोबाट लगेको भनेपछि आफूले पत्याएको किशोरीले बताएकी छिन् ।

पीडक मियाँले ती किशोरीलाई भित्री बाटो प्रयोग गरेर इनरुवा लगेका थिए । इनरुवास्थित मिनी हाइवे होटलमा ललाइफकाइ गरेर धाकधम्की दुवै दिएर जबर्जस्ती करणी गरेपछि पुनः सोही बाटो हुँदै दुहबीमा ल्याएर छोडेर फरार भएको किशोरीले दिएको जाहेरीमा उल्लेख छ ।

पीडक फरार भएपछि किशोरीले तत्कालै इलाका प्रहरी कार्यालय दुहबीमा जानकारी दिएपछि प्रहरीले पीडकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।