इलामः २०६९ असोज १४ गते मेची राजमार्गको कोल्बुङ– इलाम खण्डमा अकस्मात पहिरो खसेपछि १४ जनाको ज्यान गयो ।
यसअघि पहिरो पनि नखसेको र जमिन पनि नधसिएको त्यस स्थानमा आधा दर्जन गाडी पुरिँदा १४ जनाको ज्यान गयो । सो स्थानमा त्यति ठूलो पहिरोले मानिसको ज्यान लिन्छ भनेर चालक, यात्रु, सुरक्षाकर्मी, सडक निर्माणकर्ता कसैले पनि सोचेका थिएनन् ।

भारी वर्षाबीच गुड्दै गरेका गाडी पहिरोको चपेटामा परे । त्यस यता सो स्थानमा पहिरो खसेको छैन । सडक डिभिजन कार्यालयले सडकको भित्तातर्फ मजबुत पर्खाल बनाएपछि पहिरो नखसेको स्थानीयको भनाइ छ । तर अझै जोखिम भने कायम नै छ ।

मेची राजमार्गको इलाम– ताप्लेजुङ खण्डमा यस्ता थुप्रै स्थान छन् जहा“ जुनसुकै बेला पनि प्राकृतिक प्रकोपको खतरा छ । राजमार्गको विभिन्न स्थानमा भौगोलिक कारणले जोखिम बढ्दै गएको छ । यो सडकमा पहिरोको जोखिम पनि उत्तिकै छ । इलामदेखि पाँचथरको फिदिमसम्म ठूलो पहिरो झर्ने स्थान कम भए पनि सडक भासिने र ढिस्का झर्ने क्रम बढिरहेको छ ।

‘फिदिमदेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ सम्म चाहिँ पहरा र पहिरो झर्ने जोखिम बढी छ’, चालक उदय क्षेत्री बताउँछन् । ताप्लेजुङ–पाँचथरको सिमाना काबेली नदीदेखि माथि बहानन्दे सम्मको सडकलाई बढी जोखिमपूर्ण मानिन्छ । यो खण्डमा सडक अवरुद्ध नभएको कुनै वर्ष छैन । बहानन्दे–काबेली सडकखण्डमा पहिरो झरेर १२ घण्टासम्म पनि सडक अवरुद्ध हुने गरेको छ ।

झापाको चारआलीदेखि ताप्लेजुङसम्मको मेची राजमार्गको इलाम खण्डको किटेनी, भालुखोप, धजे, राजदुवालीलगायत क्षेत्र वर्षायाममा बर्सेनी दब्ने समस्या रोकिएको छैन । सडक डिभिजन कार्यालयले ती स्थानको सडकलाई सामान्य ढङ्गले मर्मतसम्भार भने गर्दै आएको छ ।

देशका अन्य राजमार्गभन्दा मेची राजमार्गको बनोट पनि कठिन छ । अत्यधिक र सा“घुरा गोलाइ, उकालो र ओरालो धेरै, सवारी साधनको चापजस्ता कारणले पनि राजमार्गमा जोखिम थपिएको छ । त्यस्तै राजमार्गस“ग टाँसेर बनाएका संरचना, अव्यवस्थित ढङ्गले राजमार्गबाट शाखा सडक खोलिनु, राजमार्गमा नै निर्माण सामग्री थुपार्नेजस्ता कारणले पनि जोखिम थपिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख खड्गप्रसाद श्रेष्ठले बताए । राजमार्गको क्षमताभन्दा धेरै भार बोक्ने गाडीका कारण पनि यहा“का पुल र सडकलाई नोक्सानी पुग्दै आएको छ ।

सडक डिभिजन कार्यालयले मापदण्डभन्दा ठूला साधन गुड्न नदिने, मर्मतसम्भार निरन्तर गर्ने गरेको जनाए पनि प्रभावकारी देखिएको छैन । जोखिम न्यूनीकरणका लागि नया“ प्रविधिको पर्याप्त प्रयोग हुन नसक्नु पनि राजमार्गको आयु छोट्टिनुको कारण बन्दै गएको छ । ‘राजमार्गको धेरै क्षेत्रको पहाड नै चलायमान छ,’ श्रेष्ठले भने, ‘केही स्थानमा नया“ प्रविधिबाट सडक बनाउने काम भइरहे पनि धेरै स्थानमा भने पुरानै शैलीले काम गर्नुपर्ने बाध्यता छ ।’

सडक भासिने स्थानमा नयाँ प्रविधिबाट काम
सडक विभागका अनुसार मेची राजमार्गको इलाम खण्डको सबैभन्दा जोखिमपूर्ण क्षेत्र इलाम नगरपालिकाको राजदुवाली हो । त्यहाँ सडक धसिने क्रम रोकिएको छैन । यसअघि मर्मतका लागि जति रकम खर्चंदा पनि प्रभावकारी नभएपछि डिभिजन कार्यालयले अहिले नयाँ प्रविधिबाट काम गरिरहेको बताएको छ । ‘रक एङरिङ’ प्रविधिबाट जोखिमयुक्त १ सय ५० मिटर सडक निर्माण भइरहेको डिभिजनको भनाइ छ ।

साढे ५ करोडको योजनाअन्तर्गत सडकमा तलमाथि नै मजबुत पर्खाल बनाइएको छ । यो प्रविधि अन्तर्गत पर्खालको बीचबीचमा पाइपमार्फत् २५ मिटर भित्रसम्म ३२ एमएमको रड हालिएको छ । जसका कारण सडक भासिनबाट जोगाउने श्रेष्ठले बताए । ताप्लेजुङको खहरे, खोक्से र ल्याङवाको भाग चट्टान धेरै खस्न सक्ने भाग हो । यसको बाहिरपट्टी नै चट्टानको पत्र देखिने गरेको छ ।

त्यस्तै, पाँचथरको गणेशचोक, भालुचोक र पौवाभञ्याङ क्षेत्रमा पनि स–साना पहिरो र भेलबाढीले बर्सेनी सडक भत्काउने गरेको छ । यस क्षेत्रमा ठूलो पहिरो नगए पनि ढिस्का र भित्तामा अड्किएका ठूला ढुङ्गा झर्ने क्रम नरोकिएको हुँदा घण्टौंसम्म सवारी अवरुद्ध हुने गरेको छ ।

सडक निर्माणको आधा बजेट उप्किएको पिच टाल्नमै खर्च

मर्मतका लागि आवश्यकता अनुसार रकम नआउने हुँदा पनि समस्या भएको डिभिजन कार्यालयले जनाएको छ । मेची राजमार्ग र आसपासका केही सडकका लागि गत आर्थिक वर्षमा चारआलीदेखि ताप्लेजुङसम्मको २ सय ३० किलोमिटर क्षेत्रका लागि ६ करोड रुपैया“ बजेट आएको कार्यालयले जनाएको छ । बर्सेनी डिभिजन सडक कार्यालय मातहतबाट ३ करोड बढी रुपैयाँ राजमार्गमा उप्किएको पिच टाल्नैमा खर्च हुने गरेको छ । केही स्थानमा कालोपत्रेसहित रिसोलिङलगायतका काम भएका थिए । ठेकेदारले समयमा र गुणस्तरीय काम नगर्ने कारणले राजमार्गमा समस्या आउने गरेको स्थानीय बताउँछन् ।

जोखिम बढ्दै गएको पुवाखोला पुल भने निर्माण चरणमा रहेको छ । सडक निर्माणस“गै बनेको यो पुलमा क्षमता भन्दा धेरै भार भएका सवारी साधन कुद्ने र पुरानो बन्दै गएकाले जोखिम थपिँदै गएको थियो । त्यस्तै माइखोलको पुल पनि नया“ निर्माण गर्ने श्रेष्ठले बताए ।

mechi rajmarga pahiro (6) Mechi rajmarga pahiro (3) Mechi rajmarga pahiro (2) mechi rajmarga pahiro (5)