इटहरीः वि.स.२०५२ देखि २०६२ सम्म तत्कालीन सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच चलेको सशस्त्र संघर्षका क्रममा सरकारले उपलब्ध गराएका बम बारुद प्रहरीले नष्ट गर्न थालेको छ ।

मााओवादी आक्रमणलाई निस्तेज पार्न तत्कालीन सरकारले जिल्ला प्रहरी कार्यालय मोरङलाई दिएका प्लाष्टिक हेन्ड–ग्रिनेट, ग्यास–हेन्ड ग्रिनेट, लङरेन्ज–हेन्ड ग्रिनेटसमेतका विष्फोटक पदार्थहरुमध्ये प्लाष्टिक हेन्ड–ग्रिनेट ३२७, ग्यास–हेन्ड ग्रिनेट ११० र लङरेन्ज–हेन्ड ग्रिनेट ६९ थान प्रयोग हुन नसकी म्याद गुज्रन लागेकाले नेपाली सेनासँग समन्वय गरी नष्ट गर्न लागिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जीसीले जानकारी दिए ।

तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच १५ वर्षअघि नै १२ बुँदे विस्तृत शान्ति सम्झौता सम्पन्न भई सशस्त्र संघर्षको शान्तिपूर्ण अवतरण भइसकेकाले हाल माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । म्याद गुज्रिएका विस्फोटक पदार्थ राख्दा विस्फोट भई धनजनको क्षति हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयले त्यस्ता वस्तु नष्ट गर्न परिपत्र गरेको थियो । सोही परिपत्र बमोजिम कानेपोखरीको जङ्गलमा विस्फोटक पदार्थ डिस्पोज गर्न लागिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।