इटहरीः उदयपुरको त्रियुगा नगरपालिका–८ उत्राही टोलमा घरेलु कामदारले खुकुरी प्रहार गरी घरधनीको हत्या गरेका छन् ।

घरेलु कामदारका रुपमा कार्यरत त्रियुगा–१३ पोर्ताहा घर भएका ४५ वर्षीय मेमोरी भनिने किसन सदाको खुकुरी प्रहारबाट घरधनी ६५ वर्षीय महिकर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सामान्य विवादका कारण कामदार सदाले आज बिहान ५ः१५ बजे घरधनी चौधरीको गर्दनमा पटक पटक खुकुरी प्रहार गरी हत्या गरेका हुन् । खुकुरी प्रहारबाट बच्न प्रतिकार गर्दा चौधरीको हातका औँला पनि काटिएको उनको भनाइ छ । घटनाको जानकारी पाएलगत्तै अभियुक्त सदालाई घटनामा प्रयोग भएको खुकुरीसहित प्रहरीले गिरफ्तार गरेको छ । पक्राउ परेका अभियुक्त सदालाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।