इटहरीः सुनसरीको इटहरीमा आफ्नै आमाको संलग्नतामा बालिकामाथि पटक–पटक यौन दुव्र्यवहार भएको खुलेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरामा आफ्नै आमाको संलग्नतामा ९ वर्षीया बालिकामाथि पटक–पटक यौन दुव्र्यवहार भएको खुलेको हो । सशस्त्र प्रहरी बल नेपालको जागिरे श्रीमानकी श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध गाँसेको र छोरीलाई पनि संलग्न गराएको पाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ४ का ३८ वर्षीय किसनकुमार उदासलाई पक्राउ गरेपछि यो घटना सतहमा आएको हो । प्रहरीका अनुसार ती महिला र किसनकुमारबीच केही वर्ष अघिदेखि नै सम्बन्ध रहेको खुलेको छ । घटना सतहमा आएपछि दुवैले राजीखुसी गत वैशाखमा विवाह पनि गरेका छन् । विवाह गर्नु पहिला किसनकुमार बारम्बार पीडित बालिकाको घर जाने गरेको र ती बालिकाको संवेदनशील अंगमा छुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पटक–पटक यौन दुव्र्यवहार गरे पनि बालिका चुप बसेकी थिइन् । तर, गत बैशाख १९ गते बालीकाले आफूमाथि हुने गरेको सबै दुव्र्यवहार बुबालाई सुनाएको बताइएको छ । बालीकाका बुबाले छोरीबाट सो कुरा सुनेपछि श्रीमतीलाई यसबारे सोधेका थिए । श्रीमतीले ‘हो’ भन्ने जवाफ दिएपछि उनि छक्क परे । त्यसपछि आफ्नै श्रीमती र किसनकुमारबीच विवाह गराइदिए । श्रीमति किसनकुमारको जिम्मा लगाए पनि छोरीप्रति भएको दुव्र्यवहारलाई ढाकछोप गर्न नसक्ने भन्दै उनले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले किसनकुमारलाई पक्राउ गरेको थियो । गत सोमबार पक्राउ परेका किसनकुमारलाई जिल्ला अदालत सुनसरीमा ‘बाल यौन दुर्ववहार’ मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।