इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ स्थित नेपाली सेनाको २ नम्बर वाहिनी परिसरमा सेनाले सञ्चालनमा ल्याएको सामुदायिक सर्पदंश उपचार केन्द्रमा बितेको एक सातामा मात्र ४३ जना बिरामीको उपचार भएको छ ।

विशेषतः गर्मीको समय सुरु भएसँगै सर्पहरु जमीन भित्रको तापमान सहन नसकेर बाहिरी सतहमा आउने गर्दछन् । सोही समयमा सर्पदंशका बिरामी बढी मात्रामा देखा पर्दछन् । यस उपचार केन्द्रमा पनि वैशाख, जेठ, असार, साउन र भदौ महिनामा बढी मात्रामा सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । सोही क्रममा साउनको पहिलो सातामा नै ४३ जना बिरामीको उपचार गरिएको केन्द्रका अध्यक्ष दिवस पोखरेलले जानकारी दिएका छन् ।

यहाँ बिरामी आएपछि विशालु सर्पले डसेको हो या अविशालु सर्पले डसेको हो भनेर पहिचान गरिन्छ । त्यसपछि विशालु सर्पले डसेको भए सोही अनुसारको उपचार प्रणाली अवलम्बन गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । तर यहाँ आउने बिरामीको अहिले सम्मको तथ्याङ्गक हेर्ने हो भने न्यून मात्रामा मात्र विशालु सर्पले डसेका बिरामी आउने गरेका छन् । साउन पहिलो सातामा ४३ जनामध्ये ३ जनालाई मात्र विशालु सर्पले डसेको पाइएको छ । उनीहरुको सफल उपचार पनि भएको पोखरेलले जानकारी दिए ।