काठमाडौँ: नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।

पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ सञ्चालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय विस्तार रणनीति सार्वजनिक गरेको हो । ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमका बीच नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन् । सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गरिनेछ । सेवा विस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुनेछ । थापाथलीमा अर्को भवनसमेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा सञ्चालन गर्नेछ । 

norvic (5)

यस्तै, आगामी पाँच वर्षभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ । यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिससमेत बन्ने कार्ययोजनामा उल्लेख छ । पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन् ।

norvic (6)

 नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक वसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘सम्भवतः हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’ उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे । ‘मेरो सपना अझ ठूलो हुँदैछ ।’

norvic (7)

उनले थपे–‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एक जनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’ सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए । सो अवसरमा नर्भिकको नयाँ सञ्चालक समितिको परिचय निवर्तमान अध्यक्ष वसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन् ।

norvic (2) norvic (1) norvic (4) norvic (3)