इटहरीः कोरोना भाइरसको तेस्रो लहर आउनसक्नेतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास हेर्दा उपचारकेन्द्रीत मुलुकभन्दा रोकथामकेन्द्रीत मुलुकमा कम क्षति भएको बताउँदै मन्त्रालयले व्यक्ति, नागरिक समाज, संघसँस्था, गैरसरकारी तथा सरकारी क्षेत्र गरी सबै सरोकारवाला एक भई सम्भावित जटिल परिस्थितिको सामना गर्न अपिल गरेको छ । मन्त्रालयले संक्रमण नियन्त्रणको मापदण्ड पालनामा बेवास्ता गर्दा संक्रमणको विस्तार तिव्र हुँदै गएको उल्लेख गर्दै स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सबैमा अनुरोध गरेको छ ।

यसैगरी, अक्सिजन, शैयालगायत अन्य स्वास्थ्य सामग्री र पूर्वाधार तयारी अवस्थामा राख्न अस्पतालहरलाई पनि अनुरोध गरिएको छ । मन्त्रालयले संक्रमणबाट बच्न आफ्नो पालो अनुसार स्वास्थ्य सँस्थामा गई कोरोना विरुद्धको खोप लगाउन पनि आम जनसमुदायमा अनुरोध गरेको छ । मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा पाँच सयभन्दा बढी संक्रमित रहको उल्लेख गर्दै मन्त्रालयले दुई जनाभन्दा बढी संक्रमित रहेको जिल्ला २६ ओटा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । अघिल्लो हप्ताको तुलनामा बढी जिल्लाहरुमा संक्रमण विस्तार भएको तथ्यसहित मन्त्रालयले सजगता अपनाउन आग्रह गरेको हो ।

mohp