धरानः धरानका शारीरिक रुपमा अशक्त व्यक्तिलाई ह्वीलचियरसहित आवश्यक सामग्री वितरण गरिएको छ ।

धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अनुसार शारिरिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई ह्वीलचियर, वैशाखी, ट्वाइलेट ह्वीलचियर, एल स्टीक, हियरिङ एड आज वितरण गरेको हो । उक्त सामग्री धरान उपमहानगरपालिकाको सभाहलमा मेयर तिलक राईले वितरण गरेका थिए । मेयर राईले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाउन्डेसनको संयूक्त साझेदारीमा सञ्चालनमा ल्याइएको बताए । मेयर राईका अनुसार धरानभरि रहेका शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई, उनीहरुकै माग अनुसार सहायक सामग्री वितरण गरिएको हो । मेयर राईले भने, ‘यदि तपार्इँको छिमेकमा तपाईँकै आफन्त, तपाईँजस्तो कोही छुटेको छ भने पनि उहाँहरुलाई पनि सम्पर्कमा ल्याउन आग्रह गर्छु । यो कार्यक्रम तपाईहरुकै लागि ल्याएको हो । यो तपाईहरुको अधिकार हो । अधिकार पाउनबाट कोही पनि बञ्चित नहुनुहोस् ।’ अपाङ्ग भएर बिरामी भएकालाई उपचारका लागि वडा वडामै सामाजिक विकास महाशाखासँग समन्वय गरेर सहजकर्ता तथा प्राविधिक डाक्टरहरुलाई खटाइने मेयर राईले बताए । ‘ह्वीलचियरको साइजहरु मिलेन भने त्यसलाई फेरि साइज मिलाएर व्यवस्थापन गरिदिने छौं,’ मेयर राईले भने । शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरुका लागि थुप्रै कार्यक्रमहरु गर्न बाँकी रहेको मेयर राईले जानकारी दिए । कोरोना संक्रमणका कारण भने जति कार्यक्रम खुलेर गर्न नसकेको मेयर राईको भनाइ छ ।

धरानमा संक्रमणदर तिव्र रुपमा बढिरहेको छ भन्दै दुई, चार दिनपछि फेरी पनि लकडाउन गर्नुपर्ने स्थिति बन्दै गएको मेयर राईले बताए । ‘शारीरिक अपाङ्गता भएकाको लागि भ्याक्सिन पनि आउँदैछ । हामि सुचना जारी गर्छौँ । भ्याक्सिन लगाउन कोही पनि नछुट्नुहोला । भ्याक्सिन लगाउने केन्द्र तोकेर हामी तपाईँहरुलाई खबर गर्छाँै । भ्याक्सिन लगाउन अत्यन्तै जरुरी छ । कोरोनाबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि भ्याक्सिनप्रति विश्वास गर्न पनि अनुरोध गर्छु,’ मेयर राईले भने ।

उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख प्रज्ञादेवी निरौलाले ५६ जना ह्वीलचियर, ट्वाइलेट ह्वीलचियर ५ जना, एल स्टीक ५६ जना र हियरिङ एड ५ जनालाई वितरण गरिएको जानकारी दिइन् । उनका अनुसार केही अशक्त व्यक्तिहरु छुटेका छन् । उनीहरुलाई आगामी कार्यक्रममा वितरण गरिने उनले बताइन् । प्रदेश सरकार, धरान उपमहानगरपालिका र करुणा फाउन्डेसनको संयूक्त साझेदारीमा सञ्चालनमा ल्याइएको यो कार्यक्रमको सम्झौता ३ वर्षको रहेको छ । वार्षिक रुपमा ७२ लाख रुपैयाँ बजेट छुट्याएर यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । एक वर्ष सकिएको उनले जानकारी दिइन् । गत चैत २१ गतेदेखि वैशाख २० गतेसम्म धरानका १२ स्थानमा केन्द्र तोकेर अशक्त व्यक्तिहरुको स्वास्थ्य शिविर गरिएको थियो । गत वर्षको असारबाट यो कार्यक्रम सुचारु हुनुपर्ने हो । कोरोनाका कारण गत पुषदेखि सञ्चालनमा ल्याइएको उनले बताइन् । सामाजिक विकास महाशाखाका अनुसार धरानमा लगभग एक हजार एक सयदेखि एक हजार दुई सयको हाराहारीमा अशक्त व्यक्तिहरु रहेका छन् । उनीहरुलाई ४ वर्गमा विभाजन गरेर कार्ड वितरण गरिएको थियो । केही दिनअघि मात्र उनीहरुलाई क वर्ग रातो, ख वर्ग निलो, ग वर्ग पहेलो र घ वर्ग सेतो कार्ड वितरण गरिएको जनाइएको छ । अझै खोजी गर्नका लागि सामाजिक विकास महाशाखाले १० जना सहजकर्ता खटाइएको जनाएको छ ।