इटहरीः नेपाल सरकारले चीन सरकारसँग खरिद गरेको कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको ३२ लाख डोजमध्ये थप आठ लाख डोज नेपाल वायुसेवा निगमको जहाजमार्फत् आज नेपाल आइपुगेको छ ।

यसअघि असार २५ गते पनि आठ लाख डोज ल्याइएकोमा थप आठ लाख डोज खोप आइपुगेपछि अब १६ लाख डोज ल्याउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साउन ९ गते पुनः बेइजिङतर्फ राष्ट्रिय ध्वजावाहक विमान पठाई खोप आयात गरिने मन्त्रालयको तयारी छ ।

यसैबीच, एसियाली विकास बैंक (एडीबी) ले कोरोना विरुद्धको खोप खरिदका लागि नेपाललाई साढे १९ अर्ब ऋण दिने भएको छ । बैंकले १६ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब १९ अर्ब ६३ करोड रुपैयाँ खोप खरिदका लागि ऋण दिने जनाएको हो ।