काठमाडौँः गुरुप्रति सम्मान प्रकट गरेर मनाइने गुरु पूर्णीमा आज (शनिबार) परेको छ ।

आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मानभाव प्रकट गरी गुरु पूर्णीमा मनाउने गरिन्छ । ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। मातापिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णीमाका अवसरमा यसदिन विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् । तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रूपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।

व्यास जयन्ति

आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ति पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ति मनाउने गरिएको हो। व्यासले पुराण र उपपुराणका माध्यमबाट विभिन्न सकारात्मक सन्देश प्रवाह गरेको पाइन्छ ।

अरुको उपकार गरे धर्म हुन्छ एवं अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिइएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले यसवर्ष गुरु पूर्णीमा र व्यास जयन्तिका कार्यक्रम भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइँदैछ। जुम प्रविधिका माध्यमबाट गर्ने गरी कतिपय विद्यालय एवं संस्थाले कार्यक्रमको तयारी गरेका छन् । -रासस