इटहरीः इटहरीका मेयर द्वारिकलाल चौधरी सोमबार बिहानै टेम्पो चढेर इटहरी–१० आमझाेंकी पुगे । सो वडामा उपमहानगरले गर्न लागेका विकासका योजना स्थानीयमाझ उनले सुनाए ।
मेयर चौधरी बिहानै यसरी नै नगरवासीको घरदैलोमा पुग्न थालेका छन् । उपमहानगरवासी भए पनि गाउँका जनताको उपमहानगर कार्यालयमा पहुँच नहुने, भए पनि आफ्ना कुरा राख्न नसक्ने समेत भएकाले नगरवासीको घरदैलोमै जान थालेको चौधरी बताउँछन् ।
टोलमा आएर मेयरले सल्लाह, सुझाव लिएपछि स्थानीय मख्ख पर्न थालेका छन् । मेयर चौधरीले वडा नम्बर १० का विभिन्न योजनाका लागि यो वर्षको बजेटबाट ९० लाख रकम खर्च गरिने जानकारी दिए । इटहरी–१० को ज्ञानोदय प्रावि, आमझोकी, छोटी पुल र सिमरवना हँुदै भिसी शाखा नहर जोडने ६ किलोमिटर ३ सय मिटर सडक ३ वर्षमा कालोपत्रे गरिसक्ने मेयरले स्थानीयलाई जानकारी दिए ।
त्यस्तै, वडा नम्बर १० मा जातीय सङ्ग्रहालय, ट्रमा सेन्टर, बुढीगंगा किनारमा फन पार्क, क्यान्सर अस्पताल बनाउने विषयमा सम्भाव्यता अध्ययन भइरहेको जनाए ।
३ वर्षभित्रमा इटहरीका भित्री सडकहरु कालोपत्रे गरेर गाउँलाई शहरसँग जोड्ने कार्यलाई तीव्रता दिने अभियानमा स्थानीयलाई सक्रिय बनाउने चौधरी बताउँछन् । स्थानीयवासीसँग घरदैलोमै पुगेर भेटघाट गर्ने अभियानलाई निरन्तरता दिने पनि उनले जानकारी दिए ।