हाल कोभिड–१९ विरुद्ध सुरक्षा प्राप्त गर्न सबै मानिसलाई यसको खोप लगाइराखिएको छ । तर, भविष्यमा तिनै भ्याक्सिनलाई औषधिको पिल चक्की, ‘पाउडर’ अथवा सासले निल्ने ‘इन्हेलर’का रुपमा पनि निर्माण गर्न सकिने देखिएको छ ।

दक्षिण स्वीडेनको मेडिकोन भिलेजस्थित देशकै सबैभन्दा ठूलो साइन्स पार्ककी केमिकल विद् इन्जेमो एन्डरसनले सलाईको बट्टाभन्दा आधा सानो आकारको पातलो प्लास्टिकको इन्लेहर देखाउँछिन् । त्यो सानो उत्पादनले कोरोनाविरुद्धको विश्वव्यापी लडाईँमा ठूलो भूमिका खेल्न सक्नेमा उनको टोलीले विश्वास जनाइरहेको छ । मान्छेहरुले भविष्यमा सुई लगाउनुको सट्टा कोरोनाविरुद्धको ‘पाउडर’ औषधि घरैमा विभिन्न तरिकाले सेवन गर्न सक्ने उनी बताउँछिन् । फर्मका प्रमुख जोहन वाबर्ग भन्छन्, “यो एकदम सहज हुनेछ र उत्पादन गर्न पनि धेरै सस्तो छ ।” सो फर्मले अरुबेलामा दमका बिरामीहरुका लागि इन्हेलर बनाउँदै आएको थियो । यसमा माथिपट्टीको सानो प्लास्टिक स्लिप निकाल्नासाथै ‘भ्याक्सिन इन्हेलर’ सक्रिय हुन्छ जसपछि त्यसलाई मुखमा राखेर गहिरो सासले तानेर ‘इन्हेल’ अर्थात निल्न सकिनेछ । कम्पनी आइकोनोभोले स्टकहोमस्थित इम्युनोलोजी रिसर्च स्र्टाट–अपसँग सहकार्य गरि कोभिड–१९ खोपको सुख्खा पाउडर निर्माण गरेको हो । यसले फाइजर मोडेर्ना, एस्ट्राजेनेका लगायत खोप जसरी आरएनए या डिएनए कोडबाट प्रोटिन निस्कासन नगरेर फरक तरिकाले कोभिड–१९ भाइरस प्रोटिन उत्पादन गरि प्रयोगमा ल्याउँछ जसले ४० डिग्रीसम्मको तापमान थेग्न सक्छ ।

 अहिलेका प्रमुख कोभिड खोपहरुहरुलाई स्टोर गर्ने तरिका जटिल मानिँदै आएको छ । विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका सबै खोपहरु तरल पदार्थको रुपमा छन् जसलाई बलियो सिसामा माइनस ७० डिग्रीको तापमानमा राखेपछि मात्र सामान्य फ्रिजमा स्टोर गर्न सकिन्छ । यसलाई ‘कोल्ड चेन’ भनिन्छ । त्यसो नगरेमा खोपले सबै प्रभावकारिता गुमाउँछ । आईएसआरकी संस्थापक एवम् स्वीडेनको शिर्ष मेडिकल युनिभर्सिटीकी इम्युनोलोजी प्रोफेसर ओला विनकिस्ट भन्छिन्, “यसमा सबैभन्दा ठूलो लाभ भनेकै खोपलाई पाउडरका रुपमा वितरण गर्न कोल्ड चेन चाहिँदैन र स्वास्थ्यकर्मीको मद्दत बिना आफैँ सेवन गर्न सकिनेछ । यो वास्तवमै सहज तरिका हुनेछ ।” कम्पनीले हाल आफ्नो औषधिलाई दक्षिण अफ्रिकाको बेटा भेरियेन्ट र बेलायतको अल्फा भेरियेन्टविरुद्ध परीक्षण गरिरहेको छ । यो उत्पादन विशेषगरी खोप अभियानलाई गति दिनमा उपयोगी हुने उनीहरुको विश्वास छ । किनकी गर्मी मौसमयुक्त क्षेत्र, विजुलीको राम्रो सेवा नभएका जस्ता खोप वितरण र स्टोर गर्न चुनौतिमय मानिएका ठाउँहरुमा धेरै मद्दत पुग्नेछ । हाल यो जनावरमा मात्र परीक्षण गरिएको छ तर आईएसआर र आइकोनोभोले आगामी दुई महिनाभित्रै मानव ट्रायल सुरु गर्न पर्याप्त कोष संकलन गरिसकेको बताएका छन् ।

मेडिकल समुदायले भने यस सम्बन्धी अहिले नै सकारात्मक धारणा व्यक्त गरिरहेको छ र पाउडरका रुपमा कोभिड खोप ल्याउन सफल भए यसले विश्वव्यापी कोरोना महामारी प्रतिक्रियामा पनि ठूलो क्रान्ति ल्याउने बताइरहेका छन् । त्यस्तै अर्को कम्पनी जिकमले अहिलेको खोपको तरल पदार्थको प्रभावकारिता कम नगराइ त्यसलाई ‘एयर–ड्राइ’ अर्थात सुख्खा पार्ने प्रविधिमा काम गरिरहेको छ । यसको क्षमतालाई सिंगो डोज खोप उत्पादन गर्दै आएको जोन्सन एण्ड जोन्सन कम्पनीले परीक्षण एवम् अध्ययन गरिरहेको छ । भविष्यका कोभिड खोपको वितरण र प्रयोग सहज गराउने सम्भावना बोकेका प्रविधिबारे खोज गर्ने परियोजना अन्र्तगत यो रिसर्च गरिएको कम्पनीका प्रवक्ताले बताएका हुन् । त्यस्तै खोपलाई पाउडरको रुप दिनुले सुईसँग डराउनेहरुलाई पनि फाइदा पुग्नेछ भने अर्कोतर्फ वातावरण अनुकूल पनि हुनेछ किनकी यसलाई स्टोर गर्न अत्याधिक ऊर्जा खपत् गर्ने फ्रिजरको आवश्यकता पर्नेछैन ।

विश्वभरका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि व्यक्तिगत रुपमा सुरक्षित नहुने विज्ञ गोरान कोन्डरसन बताउँछन् । त्यसैले पनि महामारीलाई दुनियाँबाट पूर्ण रुपमा हटाउन यसविरुद्धको खोप कुनाकुनासम्म पुर्याउनुपर्ने हुन्छ ।अहिलेका लागि पाउडरमा आधारित कोभिडविरुद्धको खोप, विकासको सुरुवाती चरणमा छ र अझै विभिन्न परीक्षण र ठूलो स्तरमा उत्पादनको आवश्यकता पर्नेछ । तर, वैज्ञानिकहरु यसमा सफल हुने हो भने खोपको पहुँचमा ठूलो सुधार आउनेछ, कम फोहोर उत्पन्न हुनेछ अनि खोप कार्यक्रम सञ्चालनमा पनि धेरै कम खर्च लाग्ने बताइएको छ । -बीबीसीबाट