इटहरीः राष्ट्रिय आविष्कार केन्द्रको झल्को दिने आविष्कार केन्द्रको रुपमा प्रदेश १ मा पनि पूर्वाञ्चल आविष्कार केन्द्र सञ्चालनमा छ ।
झट्ट यो ठाउँ हेर्दा कुनै ग्यारेजजस्तै लाग्छ । तर, यो ठाउँ ग्यारेज भने होइन । यो त मोरङका व्यवसायी ज्ञानु बस्नेतले सञ्चालन गरेको पूर्वाञ्चल आविष्कार केन्द्र हो । यो आविष्कार केन्द्र मोरङको सुन्दरहैँचा नगरपालिका वडा नम्बर ४, बलियामा सञ्चालनमा रहेको छ । यस आविष्कार केन्द्रमा अहिले विभिन्न मेसिनरी औजारहरु बनिरहेका छन् । केही समयअगाडि ज्ञानु बस्नेत एक मेसिनरी खरिदका लागि भारत गएका थिए । एउटा मेसिनरी खरिद गर्नको लागि महिनौँ लाग्दा पनि नेपाल ल्याउन समस्या खेपेपछि उनले मेड इन नेपाल मेक इन नेपाल भन्ने नारालाई आत्मसात गर्दै यो आविष्कार केन्द्रको स्थापना गरेको जानकारी दिए । ‘हामी नेपालीले केही गर्न सक्दैनौँ भन्ने ‘कन्सेप्ट’ हामी नेपालीको रहेको छ’, उनले भने, ‘यही ‘कन्सेप्ट’ लाई चिर्ने उद्देश्यका साथ मैले यो आविष्कार केन्द्र बनाउने निधो गरेँ । हामी नेपालीमा पनि खुबी छ, भिजन छ, भलै पैसा नहोला भन्ने धारण मेरो रहेको छ ।’
यदि बिग्रिएका सामग्रीको मर्मत गर्न नेपालमा सम्भव छ भने त्यसलाई बनाउन पनि सम्भव छ भन्ने धारणा उनको छ । यही धारणा र उनको आविष्कार गर्ने भोकले अहिले यस आविष्कार केन्द्रमा इट्टा भट्टामा प्रयोग गर्न सकिने इट्टा बनाउने मेसिन तयारी अवस्थामा छ । यस्तै, ‘कन्स्ट्रक्सन’ मा प्रयोग गर्न सकिने विभिन्न मेसिनहरु यहाँ बन्दै छन् । यस्ता सामग्रीमा अधिकतम यहाँकै सामग्री प्रयोग गरिएको उनले जानकारी दिए । ५ प्रतिशत मात्र विदेशी तयारी सामान प्रयोग हुने गरेको उनले बताए । ‘५ प्रतिशत पार्टपुर्जा मात्र विदेशबाट आउँछ । मेटरजस्ता सामान हाम्रो देशमा बन्दैन’, उनले भने, ‘यीबाहेक अरु जति पनि पार्टपुर्जाहरु छन् हामीले यहीँ नै बनाएका छौँ, नेपालमा नै बनाएका छौँ । बाहिर पनि मानिसहरुले नै मेसिनको प्रयोग गरेर बनाउने हो । हामीले पनि यहाँ गर्न सक्छौँ ।’ यहा ँउत्पादन भएका सामग्रीहरु मजबुत हुनुका साथै खरिद लागत र सञ्चालन लागत पनि कम रहेको छ ।
‘कस्टको कुरा गर्ने हो भने बाहिरबाट किनेर ल्याएको सामान हामीले उत्पादन गरेको भन्दा ५० प्रतिशत महङ्गो पर्छ । तर, यहाँ हामीले बनाएको सामान त्योभन्दा धेरै सस्तो पर्छ’, ‘अर्को कुरा के भने हामीले आफ्नो देशमा जे बनाएका छौँ मजबुत ढंगले बनाएका छौँ ।’ यसरी नेपालमा नै नेपाली कच्चा सामग्रीको प्रयोग गरेर अन्य मेसिनरी पनि उत्पादन गर्ने लक्ष्य उहाँको रहेको छ । तर, यस्ता मेसिनरीको उत्पादन र आविष्कारमा अत्याधिक लागत लाग्ने भएकाले एकल प्रयासले सम्भव नहुने उनको भनाइ छ । यस्ता क्षेत्रमा सरकारी सहयोगको आवश्यकता सर्वोपरि रहने भएपनि अहिलेसम्म सरकारले यसतर्फ ध्यान नदिएकोमा उनी दुःखी छन् । यसरी हुने आविष्कार पनि सरकारले गर्ने भौतिक विकासभन्दा कम नभएको र यसले देशको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग गर्ने भएकाले सरकारले लगानी गर्नु पनि आवश्यक रहेको उनको भनाइ छ । अहिले नै सरकारसँग हारगुहार गरिहाल्ने पक्षम आफू नरहेको उनी बताउँछन् । पहिला बनाएर देखाउने र त्यसपछि सरकारले सहयोग गर्नेमा उनी विश्वस्त छन् । यसरी एकल प्रयासमा नेपाली सामग्रीको प्रयोगबाट विभिन्न मेसिनरी उत्पादनको लक्ष्य लिएर आविष्कारसमेत गरिहरहेका महावीर पुनसँग उनलाई दाँज्दा पक्कै फरक नपर्ला ।

















