विराटनगरः ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यले सोमबार नोबेल शिक्षण अस्पतालले मोरङको कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कानेपोखरी–६ रमाइलोमा भएको सो शिविरबाट सो क्षेत्र आसपासका करिब ४ सय बिरामी लाभान्वित भएका छन् ।

३ सय ८५ बिरामीको निःशुल्क उपचार गरिएको शिविरबाट २७ जना बिरामी नोबेल अस्पताल रेफर गरिएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका बिरामीलाई थप उपचारका लागि अस्पताल रेफर गरिएको हो । शिविरमा ४१ जनाको भिडियो एक्सरे, १० जनाको इसीजी र २१ जनाको ल्याब टेष्ट गरिएको थियो ।

पूर्वी नेपालका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेल अस्पतालले आगामी शुक्रबार मोरङको रञ्जनीमा शिविर सञ्चालन गर्ने जनाएको छ । स्वास्थ्य उपचारको सहज पहुँचभन्दा बाहिर रहेका विपन्न बिरामीलाई गाउँमै पुगेर निःशुल्क उपचारको व्यवस्था मिलाउन गाउँगाउँमा शिविर सञ्चालन गरिँदै आएको नोबेल अस्पताल सञ्चालक डा. सुनिल शर्माको भनाइ छ ।

Sibir Photo 4